पत्रकारलाई दशै पेश्की र तलब तत्काल उपलब्ध गराउन महासंघको माग, मिडिया अनुगमन हुने

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकमलाई दशैं पेश्की उपलब्ध गराउन माग गरेको छ । महासंघको काठमाडौमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठकले नेपालीहरुको महान चाड वडा दशै नजिकिरहेको सन्दर्भमा सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई उपलबध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन पनि माग गरेको छ ।

बैठकले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णय गरेको छ । अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोख्रेलको र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरिएको छ भने दुवै समितिले तत्कालै सञ्चार प्रतिष्ठानहरुमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सृजना गर्ने छ । बाँकी निर्णय यस्तो रेका छन् :

प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघको काठमाडौमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठक कार्यबहाक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बस्यो । बैठकले निम्नलिखित निर्णयहरु गरेको छ ।

१. श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा महासंघ लामो समयदेखि संघर्षरत छ । बैठकले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णय गरेको छ । अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोख्रेलको र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरिएको छ । दुवै समितिले तत्कालै सञ्चार प्रतिष्ठानहरुमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सृजना गर्ने छ ।

२. रेडियो नेपाल सुदूर पश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनर्वहाली गर्न बैठकले माग गरेको छ । पत्रकारहरुको पुनर्वहालीका निमित्त जारी आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय भएको छ । आन्दोलनका थप कार्यक्रम अन्तर्गत रेडियो नेपालका सबै प्रदेश प्रसारण केन्द्रमा धर्ना दिने र काठमाडौंमा प्रदर्शन गर्ने निर्णय पनि महासंघले गरेको छ ।

रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट निष्कासित पत्रकारहरुका सम्बन्धमा छलफल गर्न गएको महासंघ टोलीलाई रेडियो व्यवस्थापनले प्रहरी लगाएर पक्राउ गरिएको घटनाको महासंघले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ । छलफलका क्रममा समेत व्यवस्थापन पक्ष गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएकोमा महासंघले खेद व्यक्त गरेको छ ।

३. समाचार संकलनार्थ पत्रकारहरु सिंहदरबार प्रवेश गर्दा थप कडाई गर्दै झन्झटिलो व्यवस्था गरिएकोप्रति महासंघ आपत्ति प्रकट गर्दछ । समाचार संकलनका लागि सिंहदरबार प्रवेशमा सहज वातावरण बनाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न महासंघ सरकारसँग आग्रह गर्दछ ।

४. नेपालीहरुको महान चाड वडा दशै नजिकिरहेको सन्दर्भमा सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई उपलबध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशै पेश्की व्यवस्था गर्न महासंघ आहृवान गर्दछ ।

रमेश विष्ट
महासचिव

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।