काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सिडिओ) अर्थात जिल्लाको शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा लिएको मुख्य व्यक्ति, अख्तियारको प्रतिनिधि समेत अनि संघ सरकारको प्रतिनिधि पनि । त्यही व्यक्तिले जनताबाट घुस खाला भनेर कल्पना समेत गर्न सकिन्न ।

तर, राजधानी काठमाडौंबाट नजिकैको जिल्ला दोलखामा कल्पना नै गर्न सकिने एउटा घटना घटेको छ । दुई घटनाका ३ जना अभियुक्तलाई धरौटीमा रिहा गर्न दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १ लाख २५ हजार घुस लिएको पाइएको छ । बुहारीलाई तातोपानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबुरछोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले घुस लिएका रहेछन् ।

अभियुक्त र उनका आफन्तले अहिले के भनिरहेका छन् भने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले लिएको एक लाख २५ हजार रुपैयाँ घुस रकम फिर्ता गरेका छन् । बिहीबार दिउँसो दुवै घटनाका अभियुक्त र उनीहरूको आफन्तलाई प्रशासन कार्यालयमा बोलाई प्रजिअको क्वाटरमा लगेर पैसा फिर्ता गरेको अभियुक्तले दाबी गरेेका छन् ।

अन्नपूर्ण दैनिकका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिल्ला प्रतिनिधिसमेत रहेका प्रजिअ रिजालले प्रक्रियागत त्रुटि भएको स्विकारेका छन्। अभियुक्तबाट पीडित भएकाहरूको उपचार माग दाबी आएमा क्षतिपूर्ति भुक्तानी दिन उक्त रकम राखिएको दाबी गरे। ‘रसिद बाहेकको घाउचोट धरौटीबापतको पैसा लिएकोमा भर्पाइ नगराउनु गल्ती भयो’, रिजालले भने । उनको दाबीअनुसार दुबै घटनाका अभियुक्तसँग पीडितले क्षतिपूर्तिको माग दाबी गरेको प्रमाण भने बिहीबारसम्म कतै भेटिएको छैन ।

उदिम तामाङ र इन्द्रबहादुर तामाङलाई सार्वजनिक सुरक्षा मुद्दामा आवश्यक अनुसन्धानपछि प्रहरीले मंसिर १७ गते मंगलबार प्रशासनमा मुद्दा बुझाएको थियो। पटके मुद्दाका आरोपी मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानले प्रजिअ रिजालले धरौटीमा रिहा गर्न भनि एक लाख रुपैयाँ लिएर १० हजार रुपैयाँको धरौटी रसिद दिएको बताए। ‘मंसिर १८ गते पटके मुद्दामा भएकाले छोड्न ठूलो जोखिम हुने भन्दै एक लाख रुपैयाँ लिएर १० हजारको मात्र रसिद दिनुभयो’, उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।