गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले उपनिर्वाचनको मतपरिणामले नेपाली कांग्रेस पतन उन्मुख भएको टिप्पणी गरेका छन् । आज (आइतवार) रौतहटको कटहरिया नगरपालिका–१, जमुनियामा समृद्धिका लागि जनप्रतिनिधिको भुमिकासम्बन्धी अन्तरक्रियामा बोल्दै अध्यक्ष साहले हालै सम्पन्न उपनिर्वाचनको मतपरिणामले स्पष्ट रुपमा कांग्रेसको पतन देखाएको जीकिर गर्दै मधेशमा मात्र नभइ सिंगो देशमै काँग्रेसको जनाधार खस्किएको बताए । उनले २०७४ मा सम्पन्न विर्वाचनको मतपरिणामको तुलनामा काँग्रेसको नतिजा तल खस्किएकाले जनताले कांग्रेसलाई नरुचाएको दाबी गरे

‘गत हप्ता सम्पन्न उपनिर्वाचनको नतीजा यहाँहरुले हेर्न सक्नुहुन्छ । कांग्रेसले २०७४ सालको निर्वाचनभन्दा पनि कमजोर नतिजा ल्याएको छ’ साहले भने, ‘त्यतिबेला औसतमा ३३ प्रतिशत स्थानमा जितेको कांग्रेस अहिले २५ प्रतिशतमा सीमित भएको छ । यो कांग्रेसको पतनको सुरुवात हो । नेकपाले गत निर्वाचनमा औसत ५५ प्रतिशत स्थानमा जितेको थियो थियो भने उपनिर्वाचनमा त्यो बढेर ६० प्रतिशत पुगेको छ । यसले स्पष्ट जनादेश दिएको छ कि नेपालमा कम्युनिष्टको विकल्प छैन् ।’

विगतमा मुलुकमा वेथिति सृजना गरेको कांग्रेस हाल विकास विरोधी भएको आरोप लगाउदै उनले भने, ‘कांग्रेस एजेन्डाबिहीन पार्टी भएकाले उसले निर्वाचनमा एउटा मात्र विषय उठायो । त्यो भनेको विभिन्न नाममा वर्तमान सरकारको विरोध गर्नु । जबकी वर्तमान सरकार जनताको लागि काम गरिरहेको तपाइ हामी स्वयमले अनुभव गरिरहेका छौँ । तर कांग्रेसले न त २०७४ को चुनावमा विकास र समृद्धिको विषयमा केही बोल्यो न हालैको उपनिर्वाचनमै केही बोल्यो । उसले विकास र समृद्धिको विरोध मात्र गरिरह्यो ।’

समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचारमुक्त नेपाल जरुरी रहेको र त्यसका लागि काँग्रेस मुक्त नेपाल बनाउनु पर्नेमा उनको जोड थियो । कार्यक्रममा सयौँको संख्यामा स्थानीय एवम् जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।