काठमाडौं । सुरक्षाकर्मीले सावधानी नअपनाउँदा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित एक घरमा शुक्रबार मध्यराति बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । विस्फोटबाट घाइते घरधनी ४५ वर्षीय राजेश भनिने राजेश्वर साह र उनका जेठा छोरा १० वर्षीय आनन्दकुमारको तत्काल घटनास्थलमै र सुरक्षाका लागि खटिएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेश यादवका अनुसार दाहाल सई हुँदा करिब १४ वर्ष पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालका निजी सुरक्षा अधिकारी (पीएसओ) रहेका थिए ।

यस्तो छ विवरण
धनुषाको महेन्द्रनगर बजारबाट पाँच सय मिटर पूर्वतर्फ छ, राजेश्वर साहको घर चारैतिर पर्खालले घेरिएको छ । शुक्रबार राति खाना खाएर परिवारका कोही सुतिसकेका थिए भने कोही सुत्ने तरखरमा थिए । साहका दुई घर जोडिएर बनेका छन् । एकतिरको घर एलवेस्टरको छाना छ भने अर्कोतिर छत ढलान भएको दुईतले घर छ । दुईतले घर एट्याच बाथरुम छ । त्यो घरमा प्रवेश गर्नुअघि फलामका ढोका छ । राति करिब ११ बजे एलवेस्टरको छानो भएको घरबाट निस्केर परिवारका एक सदस्यले शौचालय जाँदा ढोकामा रातो झोला देखे । झोला देख्नेबित्तिकै शंका लागेर उनको घरका सबैलाई बोलाए ।

झोला देखेपछि डरले उनीहरु चोकमा रहेको अर्को घरमा पुगे । महेन्द्रनगरस्थित हनुमान चोकमा आफ्नै घरमा राजेश्वर औषधि पसल चलाउँथे । उनीहरु बस्ने घर र पसल करिब पाँच सय मिटर अन्तरमा छ । शंकास्पद फोला देखेपछि रोजेश्वर छेउमै रहेको इलाका प्रहरी कार्यालयमा प्रहरीलाई खबर गर्न गए । प्रहरी निरीक्षक दाहालसहितको टोलीसँगै राति १२ बजे परिवारका सबै सदस्य घर फर्के । प्रहरी निरीक्षक दाहालसहितको टोलीले घरको ढोकामा झुन्डाइएको रातो झोला नियाल्यो ।

झोला नियालिसकेपछि उनीहरुले यो केही होइन, डराउनु पर्दैन, फालौं भने । प्रहरी निरीक्षक दाहाल, राजेश्वरलगायत अघि बढे । झोला नजिकै पुग्दानपुग्दै अचानक ठूलो आवाजमा विस्फोट भयो । घाइते निक्कीको भनाइ उद्दृत गर्दै राजेश्वरका आफन्त सुरेश साहले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।