काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएपनि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा भने अन्यौल देखिएको छ ।

यसअघि, अन्य प्रदेशमा प्रदेश सरकारले बिदा दिँदा केन्द्र सरकार मातहतका कार्यालय बन्द नहुने गरेका थिए । बागमती प्रदेशमा प्रदेश सरकारले बिदा दिए पनि केन्द्र मातहतका कार्यालय खुलेका छन् भने काठमाडौं उपत्यकाका विद्यालय समेत खुलेको पाइएको छ ।

बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रदेश सरकारले काठमाडौँ उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रानुसार हुने जनाएको छ । गृह मन्त्रालयले गत वैशाखमा प्रकाशन गरेको राजपत्रानुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहने छन् । केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ । त्यो अख्तियारी अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व अदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ । ६ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागु हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।