विराटनगर जुट मिलका अध्यक्षमाथि ६ करोडको भ्याट छलीको उजुरी

विराटनगर । विराटनगर जुट मिलका अध्यक्ष बसन्त वन संचालक रहेको तीन कम्पनीले करिब ६ करोड रुपैयाँको भ्याट छली गरेको उजुरी परेको छ । उजुरी पश्चात् ती कम्पनीहरुमा राजश्व अनुसन्धान विभागले छापामारी सम्पूर्ण कागजातहरु जफत गरेर लगेको छ ।
विभागले वनद्वारा संचालित स्थानीय तहका लागि सफ्टवेयर निर्माण गर्ने एकैठाउँबाट संचालित तीन वटा छुट्टाछुटै कम्पनी सांग्रिला माइक्रोसिस्टम प्रा.लि., सांग्रिला इन्फरम्याटिक्स प्रा.लि. र जिओसफ्ट टेक्नोलोजी प्रा.लि.को अनामनगरस्थित कार्यालयमा गत माघ २८ गते मंगलबार छापामारि कागजात जफत गरेको हो । कम्पनीका एकल संचालक बनले उस्ता उस्तै नामका दुई कम्पनी (सांग्रिला माइक्रोसिस्टम प्रा. लि. तथा सांग्रिला इन्फरम्याटिक्स प्रा. लि) दर्ता गरि संचालन गर्दै आएका छन् ।

यी दुवै कम्पनीबाट प्रशस्त कारोबार भएको तर सरकारलाई बुझाउनुपर्ने भ्याटको रकम भने झुठो विवरण भरेर नबुझाएको विभाग स्रोतले जनाएको छ । वनकै अर्को कम्पनी जिओसफ्ट टेक्नोलोजी प्रालि.पनि लाखौको भ्याट विवरण नै नबुझाई अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विभागले हाल वनका कम्पनीमाथि दोहोरो भ्याट बिल जारि, भ्याट तथा अन्य कर अपचलनको विषयमा अनुसन्धान गरिरहेको छ । उक्त कम्पनीमा काम गर्ने एक कर्मचारीका अनुसार त्यहाँ काम गर्ने कर्मचारी कामदारहरुको तलव वितरण गर्दा कम्पनीले नागरिक लगानी कोष, संचय कोष, आयकर आदि कट्टी गर्ने तर सम्बन्धित कार्यालयमा दाखिला गरिएको छैन । साथै, कर्मचारीहरुको तलब भत्ता ढिला दिने, केही महिनाको रोकेर राख्ने र कार्यालय छोड्ने कर्मचारीलाई बाँकी रकम भुक्तानी नदिएर श्रम शोषण गरेको पनि उनीहरुले बताएकाे राजधानी दैनिकले समाचार छापेकाे छ ।

वनको कम्पनीमा विभागले छापा मारेको पहिलो पटक भने हैन । यसअघि पनि कर छली र फूल अडिटमा गरेको बदमाशीमाथी अनुसन्धानको प्रयाश भएपनि कहिले म केपी ओलीको ‘एपेक्स’ टिमको मानिस हुँ भन्दै र कहिले प्रचण्डको नाम बेच्दै अनुसन्धानलाई नै तुहाउँदै आएको कम्पनीका एक कर्मचारीले बताए ।

वन केही समय अघिसम्म नेपाल सूचना तथा सञ्चार प्रविधि परिषद्को सदस्यको कार्ड देखाउँदै म केपी ओलीको ‘थिङ्क ट्याङ्क’ हुँ, त्यसैले वँहाले आफु अध्यक्ष रहनु भएको परिषदमा मलाई सदस्य बनाउनु भएको भन्दै हिड्ने गरेका थिए । ओलीको सचिवालयले उनको सो कर्तुत चालपाएपछि त्यसो नगर्न चेतावनी दिएपछि हाल उनी नेकपाका अर्का अध्यक्ष प्रचण्डको विश्वासपात्र हुँ भन्दै हिड्ने गरेको स्रोतले बतायो । विराटनगर जुट मिलका अध्यक्ष वन जुट मिलको नाममा रहेको सम्पत्ति अपचलन सम्बन्धी मुद्दामा समेत मुछिएका व्यक्ति हुन् ।