काठमाडौं । डा.युवराज खतिवडा अर्थमन्त्रीमा नरहने करिब पक्कापक्की जस्तै देखिएको छ । गोलाप्रथाको आधारमा खतिवडाको संघीय संसदकाे सदस्य पदकाे कार्यकाल २० फागुनमा सकिँदै छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई चयन गर्ने निर्णय गरेपछि खतिवडाको राष्ट्रियसभा सदस्य पद घुम्ने भएको हो । त्यससँगै उनी मन्त्री पदबाट पनि हट्ने देखिएको छ ।
नयाँ पत्रिकाका अनुसार एमसिसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार दिउँसो बोलाइएको पार्टी सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने समझदारी बनेको छ । उक्त समझदारीसँगै खतिवडाको मन्त्री पद घुम्ने देखिएको हो । वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सहमति बने पनि औपचारिक निर्णय हुन बाँकी छ ।
संविधानको व्यवस्था अनुसार सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधान छ । त्यसपछि भने उक्त व्यक्ति संघीय संसदको सदस्य भइसक्नुपर्ने व्यवस्था छ । नेकपाभित्र आगामी वर्षको बजेट अहिलेका अर्थमन्त्री खतिवडालाई नै ल्याउन दिने तयारीका विषयमा पनि छलफल भइरहेको छ । संवैधानिक व्यवस्था अनुसार उनले मन्त्री पदमा ६ महिनासम्म रहन सक्ने भएकाले बजेट ल्याउन दिएर बिदाई गर्ने तयारी समेत नेकपाभित्र छ ।
अर्थमन्त्री खतिवडाले सबैतिर करमा ध्यान दिएर सर्वसाधरणलाइ कडाइ गरेकाे भनेर आलोचना हुने गरेको छ भने उनले वित्तिय क्षेत्रमा गरेको कडाईका कारण अर्थतन्त्रमा सुधार भएको चर्चा समेत हुने गरेको छ । तर, उनलाई अब सरकारले मनोनयन नगरेको अवस्थामा भने उनले बढीमा ६ महिना मात्र मन्त्री पदमा बस्न पाउने भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।