सेक्युरिटी प्रस खरिदसम्बन्धी कमिसन विवादमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटामाथि छानबीन गर्ने की नगर्ने भन्नेबारे सत्तारुढ नेकपाका दुई अध्यक्षबीच मतभेद भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाले ७० करोडको डिल गरेको अडियो प्रकरणबारे राज्यले मात्रै छानबीन गर्ने की पार्टीले पनि गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भएको कान्तिपुरमा समाचार छ । शनिबारको बैठकमा पहिलो एमसीसी अध्ययनसम्बन्धी कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदन प्रस्तुत गर्ने र दोस्रो गोकुल बाँस्कोटाबारे छानबीन गर्ने दुई प्रस्तावमाथि छलफल भएको थियो ।

एमसीसीलाई परिमार्जनसहित पारित गर्नेमा नेताहरुबीच कुरा मिले पनि बाँस्कोटामाथिको छानबीनबारे विवाद भएको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार प्रधानमन्त्री ओलीले बाँस्कोटाले राजीनामा दिएर बाटो खुला गरिसकेकाले संसद्, सीआईबी र अख्तियारले छानबीन गर्ने बताउनुभएको थियो भने अध्यक्ष प्रचण्डले प्रश्न उठिसकेपछि पार्टीभित्र पनि एक किसिमको छलफलको विषय बनाइनुपर्ने बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।