काठमाडौं । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोक र काठमाडौंका ४ गाउँका बासिन्दालाई बाँदर नियन्त्रण गर्न निर्देशनालयले उल्लेखित रकम उपलब्ध गराउन लागेको हो ।

लामो समयदेखि बाँदरबाट समस्या भोग्दै आएका सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित धुसेनीका बासिन्दालाई बाँदरको व्यवस्थापन गर्न निर्देशनालयले अनुदान रकम उपलब्ध गराउन लागेको निर्देशनालयका अधिकृत तथा सूचना अधिकाी बब्लु ठाकुरले बताए । ‘धुसेनीमा रहेका नयाँ पानी भूमि अधिकार कृषक समूहलाई बाँदर नियन्त्रण गर्न १० लाख रुपैयाँ निर्देशनालयले निर्णय गरिसकेको छ’ उनले भने । कृषक समूहसँग सम्झाैता हुन मात्र बाँकी छ ।

बाँँदरका कारण धुसेनीस्थत स्वारा टोलका २० घर बसाइँ सरिसकेका छन् । ‘बाँदरकै कारण उनीहरु बसाई सरेकाे हुन्’ कृषक समूहका अध्यक्ष कुमार आचार्यले भने, ‘बाँदर व्यवस्थापन गर्न नसके हामी नै बसाइँ सर्नुपर्ला जस्तो भइसक्यो ।’ प्रदेश सरकारबाट उपलब्ध गराइने त्यो रकमबाट धुसेनीका बासिन्दाले बस्ती वरपरकाे झाडी फाँड्ने र बाँदरलाई खोरमा थुनेर राख्ने् योजना बनाएका छन् । ‘यस क्षेत्रमा ५ सय देखि ७ सय बाँदर होलान्’ उनले भने, ‘तिनीहरुलाई समाउँदै फलामे खोरमा राख्ने योजना छ ।’ कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।