काठमाडौं । युवतीलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई जिल्ला अदालत मकवानपुरले ८ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेको छ। अभियुक्तबाट उपचार खर्च १ करोड १४ लाख ८५ हजार रुपैयाँ भराउन पनि अदालतले आदेश दिएको छ। अभियुक्तलाई सघाउने एक जनालाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्ज, अमरपूर्वन(६ का राज भन्ने दिलीपराज केशरीलाई उक्त फैसला सुनाएको हो। केशरीले हेटौडा उपमहानगर(२ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए। केशरी विदेशी नागरिक भएकाले उक्त रकम पीडितलाई उपलब्ध गराउन सरकारले पहल गर्ने र निजबाट भराउन नसकेमा सरकारले पीडितलाई मनासिब माफिक अर्थात् उचित उपचार खर्च उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ।

उक्त इजलाशले युवती कंसाकारमाथि एसिड प्रहार गरी मुख्य अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवाना गर्ने फैसला गरेको छ। हेटौंडा बजारको मुख्य चोकमा आफ्नै भाँडा पसलमा बसिरहेका बेला कंसाकारलाई एसिड आक्रमण गरेर भाग्ने क्रममा मुख्य अभियुक्त केशरीलाई मण्डलले मोटरसाइकलमा राखेर भगाएका थिए। आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।