काठमाडौं । नेपालको प्रमुख गन्तव्यको रुपमा रहेको कतारमा नेपाली ध्वजाबाहक नेपाल वायु सेवा निगमका जहाज अब उड्ने छैनन् । कतारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेशमा प्रतिबन्ध लगाएसँगै नेपाली जहाजहरुले कतार उडान स्थगित गर्नु पर्ने अवस्था आएको थियो । कतारले सोमबार १४ देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो ।
यसैकाे कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको घोषणा गरेको छ । कतारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले उक्त मुलुकको उडान स्थगन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । “कतारले अस्थायी प्रतिबन्ध लगाएका १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीले पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगन गर्नुपरेको हो”, निगमको विज्ञप्तिमा भनिएको छ ।
निगमले २०७६ फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने जनाएको छ । त्यस्तै टिकटको उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो । यसअघि हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान रोक्ने निर्णय गरेको थियो । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान स्थगन गरिएको कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।