होसियार, खाईदेला प्रभू बैंकले तपाईको पनि पैसा

काठमाडौं । कुरो केही महिना अघिको मात्र हो । सोमबारको साँझ करिब ५ बजे पूर्वी नेपाल घर भएका प्रभू बैंकका एक ग्राहक न्यूरोडस्थित प्रभू बैंकको शाखासँगै जोडिएको बैंक परिसरको एटिएम पुग्छन् ।

एटिएममा तीन/चार जनापछि लाइनमा रहेका उनी प्रभू बैंककै एटिएम कार्ड हालेर पाँच हजार निकाल्न खोज्छन् । तत्काल नै उनको मोबाइलमा पाँच हजार झिकिएको एसएमएस आउँछ । तर, एटिएमबाट पैसा निस्कदैन । उनले फेरि तीन हजार पैसा झिक्ने प्रयास गर्छन् । त्यसको पनि एसएमएस मोबाइलमा बज्छ, तर फेरि पनि पैसा निस्किदैन । अति आवश्यक काम परेर आफ्नै बैंकको एटिएममा पुगेका उनको त्यो दिनको काम नै टरेन ।

उनीसँगै लाइनमा अघि र पछि बसेकाहरुको पनि त्यस्तै हालत थियो । उनीहरु मध्ये कति त कस्तो बैंकमा खाता खोलिएछ भनेर रिसले चुर हुँदै निस्किएको देखिन्थ्यो भने कतिले सँधै प्रभू बैंकको एटिएममा यस्तै समस्या हुने गरेको भन्दै असन्तुष्टि पोखिरहेको पाउन सकिन्थ्यो । त्यो भन्दा पनि खाताबाट काटिएको पैसा फिर्ता गर्दा पाएको पीडा र झन्झटको कथा झनै भयावह छ । त्यसरी आफ्नो खाताबाट पैसा कटेको तर आफूले नपाएपछि बैंकले फिर्ता गर्छ भनेर ती व्यक्ति एक डेढ सातासम्म पर्खेर बसे । पेशाले विद्यार्थी रहेका उनी भन्छन् ‘परीक्षा पनि त्यति बेलै पर्यो त्यहीँ भएर बैंकले पैसा फिर्ता गर्ला भनेर बसें तर झण्डै दुई साता बित्दा पनि फिर्ता गर्दै गरेन ।’

परीक्षा सकिए लगत्तै उनी प्रभू बैंक न्यूरोड पुगेकाे बताउँछन् । न्यूरोडमा उनले आफ्नो सबै कुरा भनेपछि बैंकको कर्मचारीको आग्रह अनुसार एटिएम चलाउँदा घटाइएको पैसा फिर्ताको फर्म भरें । बैंकले पाँच हजार पैसा झिकिएको देखाएको बताए पनि उनलाई कहिले गुल्मीबाट त्यो दिन पैसा झिकिएको त कहिले हेडक्वार्टरको एटिएमबाट झिकिएको छ भन्दै अल्झाइरह्यो । न्यूरोड शाखाले आफ्नो शाखाको एटिएमबाट त्यो दिन पैसा नझिएको दाबी गरिरहेको थियो । तर, ती व्यक्ति सिसी क्यामेरा हेर्न पटक पटक आग्रह गरिरहेका थिए । उनले केही दिनपछि पुनः न्यूरोडमा गएपछि उनलाई हेडक्वार्टर जान आग्रह गरियो । हेडक्वाटरमा उनले पुनः नयाँ फर्म भरेर पैसा फिर्ता माग गरे । हेडक्वाटरले फोन गर्छु भनेर उनलाई फिर्ता पठाएको उनी सम्झन्छन् । तर, उनलाई फोन गर्छु भन्दै नगरीकन महिना बढी दिन बैंकले झुलाइ नै राख्यो ।

उनले लगातार फोन सम्पर्क गरेर पटक पटक सोधखोज गर्दा कहिले आइटी, कहिले को भनेर अल्मल्याउने त कहिले कसको नम्बर दिने काम जारी रह्यो । अन्त्यमा बैंकले ती ग्राहकलाई सोल्टीमोडबाट त्यो दिन पैसा झिकेको दाबी गर्यो ।

यसअघि कहिले गुल्मी र त कहिले हेडक्वाटरकै एटिएम प्रयोग गरेको भन्दै आएको बैंकले सोल्टीमोडको एटिएमबाट पैसा झिकिएको र त्यहाँबाट पैसा आउट पनि भएको दाबी गर्यो । बैंकले लामो समय भएको र ती व्यक्तिले भुलेका भन्दै त्यो पैसा सोल्टीमोडबाटै झिकेको दाबी गर्यो । कतिसम्म भने बैंकले त्यो दिनको पैसा झिकेको फोटो भन्दै सिसिक्यामेराबाट झिकिएको फोटो भन्दै तस्बीर देखाएर हतोत्साहित बनाउनेमा लाग्यो । बैंकले दिएको हैरानीका कारण ती व्यक्ति आजित भएर पैसा खोजी गर्न नै छाडिदिनेमा पुगेको बताउँछन् । भन्छन्, ‘कहिले कहाँ भनेको छ, कहिले कहाँ भनेको छ, फेरि कहिलेको फोटो देखाएर उल्टो मलाई नै पैसा झिकिस् भन्यो, मैले सिसि क्यामेरा नै हेरे पनि सबै सेटिंग गरेर राखेको जस्तो लाग्यो त्यसैले म त आजित भएर त्यति पैसा खाएर बैंक ठूलो हुन्छ भने होओस् भनेर खोज्न नै छाडिदिए ।’

त्यसो त उनले सिसी क्यामेरा हेर्न नचाहेका पनि हैनन् । तर, बैंकका कर्मचारीले सिसिक्यामेराको फोटो भन्दै देखाए पछि उनले सिसिक्यामेरा हेरे पनि बैंकले आफ्नो गल्ती ढाकछोप हुने गरी केही न केही सेटिंग गरे जस्तो लागेकाले नहेरेका बताउँछन् । मेरो पैसा बैंकले नै खाओस् भनेर छाडिदिए, उनी भन्छन् ।

बैंकका गम्भीर गल्ती

ती एक बैंकका ग्राहकले आजित भएर पैसा खोजी गर्न नै छाडिदिए । त्यस घटनामा बैंकको तर्फबाट गम्भीर गल्ती भएको पनि पाइएको छ । यस्ता गल्तीका कारण बैंकको विश्वास कसरी गर्ने भन्ने प्रश्न उब्जिएको छ । बैंकले कहिले गुल्मीबाट पैसा झिकिएको भन्नु, कहिले हेडक्वाटर भन्नु र अन्त्यमा ती ग्राहकले नियमित रुपमा प्रयोग गर्ने सोल्टीमोडबाट एटिएम झिकिएर पैसा निकालिएको भन्नुले बैंकको नियमित, सर्भर वा त्यहाँको कर्मचारीमाथि प्रश्न उठ्न गएको छ ।

यस्तै, गल्ती थपिदैं गएमा प्रभू बैंकमा खाता खोल्न तथा निपेक्ष संकलन गर्न समेत डराउनुपर्ने अवस्था आएको बताउन थालिएको छ । एटिएमबाट पैसा गुमाएका ती व्यक्ति अहिले पनि बैंकले नै आफ्नो पैसा खाईदिएको ठान्छन् । मैले दुई पटक निवेदन दिए, १०, १५ पटक जति फोन गरे होला, त्यति धेरै चासो राख्दा मेरो पैसा कहाँ गयो, कसरी गयो, भन्ने चित्तबुझ्दो जवाफ बैंकले दिएन, न्यूरोडबाट एटिएम छिराए तरर त्यसको त कुरै आएन, म अहिले पनि छक्क परेको छु । उनी भन्छन् ।

उनले अहिले पनि त्यो पैसा सम्झिदाँ बैंकप्रति नराम्रो सोच पैदा भएर आउने बताएका छन् । ‘खोजौं भने आजित भएको छु । नखोजौं अहिले पनि मेरो पैसो बैंकले खाईदियो भन्ने लाग्छ ।’ उनले भने, ‘म सोझो भएरै प्रभू बैंकले पनि हेपेको होला !’

(तपाई पनि ठगिनु भएको छ भने फेसबुक कमेन्ट, हाम्रो फेसबुक पेज वा इमेल hellokhabar@gmail.com मा तपाईको कथा व्यथा पठाउन हुन अनुरोध छ । बैंकको बेथितिहरू सम्मिलत खोज श्रृंखलाबद्ध प्रकाशित हुनेछ ।