काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका छन् । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गरेका छन् भने कोरोनाबाट बच्ने उपाय अपनाएका छन् । नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहेका छन् ।
मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गरेका छन् । कोरोना भाइरससँग सम्बन्धित कुनै विषय भयो भने केही सम्बन्धित व्यक्तिसँग छलफल गर्ने नभए भेटघाट पूरै बन्द गरेकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
सल्लाहकार थापाले पहिला जस्तो दौडधूप नगर्ने तर दैनिक आइपर्ने आवश्यक विषयमा छलफल गर्ने बताए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किएका छैनन् । उनी ‘सेल्फ क्वारेन्टाइन’मा छन् । नेता तथा कार्यकर्तासँग कम भेटघाट गरेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गरेका छन् । तीन दिनदेखि उनी घरमै छन् । कुनै जरुरी र आवश्यक भेटघाट छ भने मात्र भेट्नुहुन्छ नत्र भेटघाट बन्द नै गर्नुभएको छ । उहाँका स्वकीय सचिव भानु देउवाले भने । गाेरखापत्रमा समाचार छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।