इटालीमा जस्तै तपाई हाम्रो घरमा लास उठाउने मान्छे नपाए के हुन्छ ?

राेष्मा कटवाल

युरोपमा यतिबेला कोही मरे साथीभाई र आफन्तले घरभित्रै बसेर बाईबाई गर्नेु पर्ने स्थिति छ ।
तर, यहाँ कतिलाई ‘लक डाउन’ जोक र मजाकको विषय लागेको हुनु पर्छ । सरकारी निर्देशन उल्लंघन गर्दै सवारी चलाउने, अनावश्यक रुपमा घर बाहिर निस्कनु आदीले त्यहीँ संकेत गर्छ ।
तर तपाईले यो सोच्नु भएको छैन की, हाम्रै लापरबाहीका कारण यो संक्रमण तपाई हाम्रो घर आगनमा भित्रिएमा न हस्पिटलको बेड पाउनु हुनेछ, न शव उठाउने मान्छे ।

यो कुनै फिक्सन हैन । यसको यथार्थ बुझ्न इटाली लगायत युरोपियन राष्ट्रहरुको अहिलेको दर्दनाक अवस्था पढ्ने र हेर्ने हो भने सजिलै देखिने छ ।

प्रसंग केही दिन अघिको मात्र हो । इटालीका एक पुरुष आफ्नो बहिनी कोरोनाको कारण ओछ्यानमै मरेकोमा हार गुहार मागेर रोएका थिए, किनभने उनले इमरजेन्सी सेवा पाउन सकेनन् । युरोपमा रहेकी नेपाली पत्रकार अनुराधा पौडेलले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘उनले (ती पुरुषले) फेसबुकमा भिडियो हालेपछि इमरजेन्सी सेवा त आयो तर त्यो बेलासम्म उनका छोराछोरी र परिवारै सँक्रमित भैसकेका थिए । उनकी बहिनीको शव पछि प्रहरीले नै जलायो ।’

अनुराधाले लेखेकी छिन् ‘ फ्रान्समा पनि हरेक दिन कोरोना सँक्रमित मर्छन् । एक नर्शले हिजो भनेकी थिईन, ‘बेलुका औषधि पानी दिएर गएको बिरामी भोलिपल्ट मरिसकेको हुन्छ र सट्टामा नयाँ आईसकेको हुन्छ। ‘ यस्तो देख्दा मनमा असाध्यै पिडा हुन्छ ।’

इटालीमा त्यहाँ दुई हप्ता अघिदेखि नै चिहान घरमा लाश गाड्ने ठाउँ नभएकाले मृतकहरुलाई जलाउन लग्नु भन्ने सन्देश चिहानघरको गेटमा टाँसिएको छ । परिवार नहुनेको सीधै पुलिसले शव लगेर जलाउने गरेको छ । यो पीडा युरोप भरी नै उस्तै छ ।

अनुराधाले अर्को स्टाटसमा निक्कै चिन्ता गर्दै लेखेकी छिन् ‘फ्रान्समा (कोरोना या अरु कारणले) मरिए छ भने यो बेला के हुन्छ ? मलामी पनि पाईन्न । झन् परिवार नहुनेको त सीधै पुलिसले लान्छ । अस्ति मात्र संसोधित कानूनले भन्छ, बढीमा १० जना मलामी जान पाईन्छ त्यो पनि घर भित्रको तिन पुस्ते । यतिबेला कोही मरे साथीभाई र आफन्तले घरभित्रै बसेर बाईबाई गर्नेु पर्नेछ ।’

अब फेरि नेपालको सन्दर्भ जोडौ, कतै हामी आफ्नै कारण अनुराधाले उल्लेख गरेको जस्तै दृश्यको निर्माण त गरिरहेका छैनौं ? यो सोच्ने बेला ढिला भइसकेको छ । भोलि तपाई हामी जो पनि जहिले पनि त्यो अवस्थामा गइन्न भन्ने रहेन- किनकी याे महामारी हाे ।

नेपालमा हालसम्म तीन जनामा संक्रमण देखा परी सकेको छ । एकमा सञ्चो भएपनि दुई जनाको उपचार जारी छ । उनीहरुमार्फत कतिमा संक्रमण फैलियो त्यो भन्न सकिन्न ।
भारत लगायत संक्रमण फैलिएका देशहरुबाट कति नेपाली आए, उनीहरु कहाँ छन् कुनै लेखाजोखा छैन । चिकित्सकहरुले बिरामीको उपचारमा प्रयोग गर्नै पर्ने पिपिए लगायतमा सामग्री नपाएको गुनासो पटक पटक आइरहेको छ ।

अतः हामी इटाली, स्पेन, फ्रान्सहरुले भोगिरहेको दर्दनाक दृश्यको नजिक–नजिक छौं । यति बेला, आफू घरभित्रै बस्ने, आफू बाँच्ने र अरुलाई बचाउनुको विकल्प नरहँला ।

नत्र, कोही मरे साथीभाई र आफन्तले घरभित्रै बसेर बाईबाई गर्नेु पर्ने हुनेछ । संक्रमण फैलिए हजारौंमा सर्नेछ, बेड नपाएर हस्पिटलका पेटीहरुमा सुत्नुपर्नेछ, अनि शव उठाउने मान्छे नपाएर रुनुपर्नेछ अहिले युरोपमा जस्तै !

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।