जनता समस्यामा छटपटाई रहँदा ‘दुलो’ पसे नेताहरु

काठमाडौं १८ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासले विभिन्न राजनीतिक दलका उच्चदेखि तल्लो तहसम्मका नेताहरु एकान्तबास अर्थात ‘दुलो’ पसेका छन् ।

महामारीको रुपमा कोरोना भाइरस नफैलियोस् भनेर सरकारले एक्कासी लकडाउन गर्दा धेरैलाई समस्या परेको छ । कालोबजारी, महंगी बढेको छ, नीजि अस्पतालले बिरामी चेकजाँच गर्न अस्वीकार गरिरहेका छन्, मजदुरहरु अलपत्र अवस्था छन् भने भारतबाट आउने नेपाली सिमानामा रोई कराई गरिरहेका छन् यस्तो दर्दनाक अवस्था छाडेर नेताहरु भने आफ्नो घरभित्रै रमाईरहेका छन् ।

कतिपयले औपचारिक रुपमा नै अत्यावश्यक बाहेक भेटघाट बन्द गर्ने घोषणा गरेर एकान्तबास पसेका छन् भने कतिपय चुपचाप सामाजिक सञ्जालमा उपस्थिति जनाउने र घरभित्रै बस्ने गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफैं बिरामी रहेका छन् । हालै मात्र उनको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । उनको स्वास्थ्य अवस्थाको कारण क्रियाशिलता कम छ भने आफैं अनुगमनमा निस्कने सक्ने अवस्था छैन । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक भने बस्ने गरेको छ त्यसमा प्रधानमन्त्रीको उपस्थिति रहने गरेको छ । त्यसबाहेक अन्यत्र पछिल्लो समय उनको उपस्थिति रहेको छैन ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेर घरमै बसेका छन् । उनले केही दिनअघि मात्र चिनियाँ प्रधानमन्त्री सि जिनफिङलाई पत्र लेखेर सहयोगको अपिल गरेका थिए । त्यस्तै, सबै नेता कार्यकर्तालाई स्वयम् सेवकको भूमिका खेल्न आग्रह गरेका थिए । आग्रह अनुसार काम भएको छैन भने पछिल्लो समय प्रचण्ड आफैं जनताको पिर मर्का बुझ्ने, बजार तथा अस्पतालहरुको अनुगमन गर्ने, पार्टी बैठक बसाएर सरकारलाई दिशा निर्देश गर्ने काम गरेका छैनन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु पनि यति बेला घरभित्रै बसेर निदाए बराबर भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा घरबाहिर नै निस्किएका छैनन् । उनको उपस्थिति अहिले विज्ञप्ति जारी गर्ने, सामाजिक सञ्जालमा उपस्थिति हुनेमा मात्र सिमित छ ।

अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बाहिर निस्किएका छैनन् । उनले घरभित्रै बसेर सामाजिक सञ्जालमार्फत गरेको अपिलमा सहमतिको सरकारमा जोड दिएपछि उनले चर्को आलोचना समेत खेप्नु परेको ।
कांग्रेसले छाया सरकार गठन गरेपनि महामारीको अहिलेको अवस्थामा छाया सरकार खोज्नुपर्ने अवस्था आएको छ ।

शिर्ष नेताहरु मात्र हैन, दोस्रो तेस्रो र स्थानीय तहका नेताहरुको सक्रियता पनि यति बेला सेलाएको छ ।
अन्य दलका नेताहरुको सक्रियता पनि यति बेला देखिएको छैन । सबै नेताहरु देश र समाजको चिन्ता भन्दा पनि आफ्नो ज्यान कसरी जोगाउने भन्नेमा लागेको देखिएको छ ।

केही महिना अघि चीनको वुहानमा अहिले नेपालको भन्दा सयौं गुणा बढी हुने गरी महामारी फैलिएको थियो । ८० हजार भन्दा बढीलाई संक्रमण देखिएको थियो भने करिब ३ हजारको ज्यान गएको थियो । त्यहाँ चिनियाँ प्रधानमन्त्रीदेखि सरकारी उच्च अधिकारी लगायत सबैको उपस्थिति र अनुगमन भएको मिडियामा तस्बीर तथा भिडियोहरु देखिएको थियो । तर, नेपालमा भने ठिक उल्टो देखिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।