गोपालप्रसाद पोखरेल/रासस
मोरङ, १ कात्तिक । अन्न नखाइ कोही मानिस बाँच्न सक्छ ? भनेर तपाइँलाई कसैलाई प्रश्न सोध्यो भने सायद तपाइँ सहजै भन्नुहुन्छ, नचाहिने कुरा, कहीँ त्यस्तो पनि हुन्छ र ? 
तर मोरङ जिल्लाको सुन्दर हरैँचा–७ निवासी ८२ वर्षीय जीवनाथ भट्टराईको सवालमा भने यही कुरा सत्य हो । उनी सात वर्षको उमेरदेखि अन्न नखाइ बाँचेका छन् ।
उनले सात वर्षको उमेरदेखि ६५ वर्षको उमेरसम्म कन्दमुल (सक्खरखण्ड, तरुल, आलु आदि) मात्र खाए । त्यसपछि कन्दमुल पनि छाडेर स्याउ मात्र खान थाले । उनले सातबर्षको उमेरदेखि नै नुन तेल पनि नखाएको उनका छोरा शीव भटृराईले जानकारी दिए । उनले सातवर्षकै उमेरदेखि आफ्नै ज्ञानले व्रतको रुपमा नै अन्न र नुन छोड्नु भएको पनि उनी बताउँछन् । 
विगत ६६ वर्षदेखि हालसम्म प्रत्येक दिन बिहान माता भगवतीको पूजाआजा पछि उसिनेको दुईवटा स्याउ खानुहुन्छ र मध्यान्ह १२ देखि १ बजेको समयमा कैलो रङको गाईको मात्रै एक गिलास दूध पिउछन् । त्यसपछि फेरि बेलुका पूजाआजा पछि उसिनेको स्याउ खाने गर्छन् । उनको प्रत्येक दिन नियमितरुपमा स्याउ र एक गिलास दूध पिएरै चल्ने गरेको छ । 
छिमेकी पुष्पराज आचार्यका अनुसार उमेरले ८२ पुगे पनि जीवनाथ खेती गर्ने बेलामा खेतमा आली लगाउने, बीउ काड्नेजस्ता काम समेत गर्दै आएका छन् ।
उनी भन्छन्, “घर र खेतबारीको सबै काम गर्दै आएको छु मलाई खासै समस्या भएको छैन । उनको १० कट्ठा खेत छ । जहाँ मौसमअनुसार धान, मकै, तोरीलगायतका बाली लगाउने गर्छन् । उनले आफ्नै घरमा एउटा भगवतीको मान्दिर स्थापना गरेका छन् । उनले विगत केही वर्षदेखि अखण्ड दीप बाल्दै आएका छन् ।
सो मन्दिरमा नौरथा, मंसिरे पूर्णिमा, वैशाखे पूर्णिमा, जनैपूर्णिमामा मन्दिरमा दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छिमेकी लवराज आचार्यले बताए । 
भुल्के, भोजपुरमा जन्भिएका उनी भट्टराई कुलविकास प्रतिष्ठान, गोठगाउँको संस्थापक अध्यक्ष पनि हुन् । उनका तीन छोरा र एक छोरी छन् । उनी अरु तन्नेरीभन्दा कम छैनन् । युवाले जस्तै खेतबारीको काम गर्छन् भने शारीरिक रुपमा समेत निक्कै तन्दुरुस्त देखिन्छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।