काठमाडौं । कोरोनाविरुद्धको खोप नलगाएरै विद्यार्थीहरू परीक्षामा सहभागी हुन बाध्य भएका छन् । सरकारले परीक्षार्थीहरूलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने भने पनि औपचारिकतामा मात्रै सीमित भएको छ । परीक्षाका बेला वा परीक्षा हुनु दुई÷तिन दिनअघि खोप उपलब्ध गराउने घोषणा गर्ने विषय सान्दर्भिक नभएको परीक्षामा सहभागी खोप लगाउन नपाएका विद्यार्थीहरू बताउँछन् ।

त्रिभुव विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर विज्ञान संकायको परीक्षा दिन दाङबाट आएका विद्यार्थी रबिन गौतमले भने, ‘परीक्षा हलमा प्रवेश गर्दा ज्वरो पनि जाँच गरेनन् । सेनिटाइजरको पनि व्यवस्था थिएन । खोप त शुक्रवार बेलुकी आएको शनिबार परीक्षा कसरी कहाँबाट लगाउनु ?’ लोकसेवा आयोगको परीक्षामा सहभागी परीक्षार्थी भन्छन्, ‘दुई दिनअघि खोप दिने भन्ने अनि परीक्षाको तयारी गर्ने कि खोप लगाउन लाइनमा लाग्ने । त्यही पनि ६० हजार विश्व विद्यालयस्तरका परीक्षार्थीलाई मात्रै भनिएको छ ।’ परीक्षाको एक/दुई दिनअघि सरकारले खोप दिने घोषणा गर्नुभन्दा पनि विद्यार्थीलाई सहज र सरल तरिकाले खोप उपलब्ध गराउनुपर्ने विद्यार्थीको माग छ । हाल विश्वविद्यालयस्तर र लोकसेवाले सञ्चालन गरेका परीक्षा भौतिक उपस्थितिसहित निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । तर, अधिकांश परीक्षार्थीहरू खोप लगाउनबाट वञ्चित भए ।

सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने बताएको थियो । करिब ६० हजार विद्यार्थीलाई खोप दिइने र त्यसका लागि तयारी गर्न जिल्लाहरूलाई निर्देशन दिइएको बताएको थियो । विश्वविद्यालयस्तरको परीक्षाको प्रवेशपत्र पाएका विद्यार्थीका लागि प्रवेशपत्र हेरेर अस्ट्राजेनेका वा भेरोसेलको पहिलो मात्रा खोप लगाउने भनिए पनि अधिकांश विद्यार्थीहरू खोप नलगाई परीक्षा दिन बाध्य छन् ।

लोकसेवाको नायव सुब्बा परीक्षा दिएका विद्यार्थी अशोक रोकाले भने, खोप लगाउने जाने कि परीक्षाको तयारी गर्ने ? कम्तीमा नियमित रूपमा खोप अभियान सञ्चालन गर्नुुपर्छ । खोप लगाउन एक/दुई दिन छुट्याएर हुँदैन ।’ यस्तै, त्रिविले सञ्चालन गरेको स्नातकोत्तर तह प्रवेश परीक्षाका लागि गुल्मीबाट शुक्रबार बेलुकी काठमाडौं आएका रबिन अर्यालले भने, ‘शुक्रबार बेलुकी आइपुगे शनिबार परीक्षा छ कसरी खोप लगाउनु ? यो अलि वैज्ञानिक भएन कि भन्ने हो ।’ परीक्षा हलमा भौतिक दूरी कायम भए पनि बाहिर हलभित्र छिर्नेदेखि परीक्षा दिन जाँदा जनस्वास्थ्यका मापदण्ड लागू नभएको विद्यार्थीहरू बताउँछन् ।

अखिलका अध्यक्ष ऐन महरले सबै परीक्षार्थीहरूलाई खोप उपलब्ध गराउनुपर्ने बताए । उनले भने, ‘आमविद्यार्थीहरूलाई खोप उपलब्ध गराउनुपर्छ । खोप लगाउन नपाउँदा विद्यार्थीहरू निकै मर्कामा परेका छन् । हामीले सरकारसँग पटकपटक खोप उपलब्ध गराउन माग गरेका छौं ।’ हिजो शनिबार लोकसेवा आयोगले अप्राविधिकतर्फको पाँचाैँ तह र त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम वर्षका केही विषयको भौतिक उपस्थितिसहित प्रवेश परीक्षा लिएको थियो ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट बच्न भौतिक दूरी कायम, मास्कको समूचित प्रयोगमा ध्यान दिनुपर्ने बताउँछन् । उनले भने, ‘आवतजावत गर्दा वा घर बाहिर निस्कँदा सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नुपर्छ । हेलचेक्र्याइँ गर्नुहुँदैन ।’ यसअघि सरकारले कोरोना जोखिमलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित गरेको थियो । तर, अन्य परीक्षाहरू भने निर्बाध रूपमा भौतिक उपस्थितिसहित निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप उपलब्ध गराउने घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

शनिबार कोरोना परीक्षण कम हुँदा संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर स्थिर रहेको छ । शनिबार देशभर थप २ हजार ६ सय २४ जनामा संक्रमण देखिएको छ । देशभर गरिएको ८ हजार ६ सय ६७ पीसीआर र ४ हजार ९ सय ६ जनाको एन्टिजेन परीक्षणका क्रममा २ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४ सय ५ जना रहेका छन् । शनिबार थप १ हजार ३ सय २० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ पुगेको छ । देशभर ७ सय ६० जना आईसीयूमा उपचाररत रहेका छन् भने १ सय ८६ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् । राजधानी दैनिकमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।