काठमाडौँ । एमालेले १४ सांसदलाई पदमुक्त गर्नका लागि संसद् सचिवालयमा पठाएको पत्रमा गत वैशाख २७ मा प्रतिनिधिसभामा ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको जनाएको छ ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा वैशाख २७ मा विश्वासको मत लिने बेला प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेका २८ मध्ये १४ सांसदलाई पदमुक्त गर्न भन्दै मंगलबार संसद् सचिवालयलाई पत्र पठाएका थिए । ओलीले पठाएको पत्रमा माधवकुमार नेपालसहित १४ सांसदलाई दल त्याग गरेको विषय उल्लेख गर्दै ‘ह्वीप उल्लंघन’ मा कारबाही गरिएकाले प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिदिन भनिएको छ ।

‘पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मिति २०७८ वैशाख २७ गते दिनको १ बजे प्रतिनिधिसभामा नेपालको संविधानको धारा १०० (१) बमोजिम विश्वासको मत लिने र सो मतदानमा सबै प्रतिनिधिसभा सदस्यलाई विश्वासको मतको पक्षमा मतदान गर्न मिति २०७८ वैशाख २६ गते राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्वीप) जारी गरिएको तर पार्टीबाट निर्वाचित २८ जना माननीय सदस्यहरूले उक्त ह्वीप उल्लंघन गर्नुभएको व्यहोरा संसदीय दलका मुख्य सचेतक माननीय विशाल भट्टराईले केन्द्रीय कमिटीलाई जानकारी दिनुभएको थियो,’ केन्द्रीय कमिटीले १४ सांसदलाई कारबाही गर्नका लागि गरेको निर्णयमा भनिएको छ ।

साउन २५ मा बसेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा वैशाख २७ पछि एकैपटक साउन ४ मा केन्द्रीय कमिटी बैठक बसेको र उक्त बैठकले ह्वीप उल्लंघन गर्ने सांसदलाई स्पष्टीकरण सोधिएको उल्लेख छ । ‘ह्वीप उल्लंघन भएपछि मिति २०७८ साउन ४ मा पहिलोपटक बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको अनुशासन उल्लंघन गर्ने र पार्टीविरुद्ध निरन्तर क्रियाशील रहेका केही सदस्यलाई केन्द्रीय कमिटीको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्धको गतिविधिमा निरन्तर संलग्न भएको र विश्वासको मतको प्रस्तावको पक्षमा मतदान नगरी ह्वीप उल्लंघन गर्नुभएको हुँदा प्रतिनिधिसभाको सदस्यबाट किन निष्कासन नगर्ने भनी स्पष्टीकरण माग गर्नुभएको थियो ।’

त्यसरी स्पष्टीकरण सोधिएकामध्ये माधवकुमार नेपाल र नीरादेवी जैरूले जवाफ नदिएकाले आरोप स्वीकार गरेको भनिएको छ । त्यस्तै, ह्वीप उल्लंघन गर्ने बाँकी १२ जनाले ‘२०७८ वैशाख २७ मा तत्कालीन प्रधानमन्त्रीले विश्वासको मत लिँदा मसमेतले उक्त प्रक्रियामा सहभागी हुन वाञ्छनीय ठानेनौं र अनुपस्थित रहेका हौं, यो एक राजनीतिक निर्णय थियो, यस्तो राजनीतिक निर्णयलाई व्यक्तिले पार्टी विधानविपरीत कार्य गरेको भनी अर्थ गर्न मिल्दैन र हुँदैन’ भनेर जवाफ दिएको उल्लेख छ ।

पार्टी ह्वीप उल्लंघन गरेर अक्षम्य राजनीतिक अपराध गरेकाले संविधान, राजनीतिक दलसम्बन्धी ऐन र पार्टी विधानका विभिन्न प्रावधानअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्य र प्रतिनिधिसभा सदस्यसमेत नरहने गरी निष्कासन गरिएको भनिएको छ । त्यसरी निष्कासनमा पर्नेमा नेपाल, जैरू, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।

यी सांसदले ह्वीप उल्लंघनसँगै दल त्याग गरेको भन्दै ओलीले संसद् सचिवालयलाई पत्र लेखेका छन् । जसको विषय ‘दल त्याग गरेको सूचना सम्बन्धमा’ लेखिएको छ । त्यसको व्यहोरामा भनिएको छ, ‘यस दलका तर्फबाट प्रतिनिधिसभाका माननीय सदस्यहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८(१) (क) बमोजिम कार्य नगरी दलको निर्देशन (ह्वीप) उल्लंघन गरेकाले यस दलको केन्द्रीय कमिटीको २०७८ साउन २५ को निर्णयअनुसार ऐ. ऐनको दफा ३२ (२) बमोजिम प्रतिनिधिसभा सदस्यसमेत नरहने गरी यस दलबाट समेत निष्कासन गरिएकाले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपिसमेत साथै राखी यो सूचना गरिएको छ । दफा ३५ बमोजिम तत्काल सदनलाई जानकारी गराई दफा ३६ बमोजिम स्थान रिक्तको सूचना निर्वाचन आयोगमा शीघ्र दिनुहुन अनुरोध छ ।’ कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।