काठमाडौं ७ पुष । भौतिक पूर्वाधार तथा विकास निर्माणको सबैभन्दा जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारीमा रहेकी मन्त्री रेणु कुमारी यादवको ध्यान ठूला विकास निर्माण र सुशासनमा जानुको सट्टा सामान्य विषयमा अल्झिन थालेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तयार परेको ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ मा बाइक तथा स्कुटरको पछाडी बस्नुपर्ने व्यक्तिलाई पनि अनिवार्य रुपमा हेलमेट लगाउने व्यवस्था गर्न लागिएको छ ।
काठमाडौं उपत्यकामा अफ टाइममा समेत घण्टौं जाम बस्नुपर्ने बाध्यतामा रहेका उपत्यकाबासीले जाम हटाउन विकल्प खोजिनुपर्नेमा उल्टै पछाडी बस्नेलाई पनि हेलमेट लगाउनुपर्नेमा मन्त्रीको ध्यान जानु आर्थिक लेनदेनको विषय हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
मन्त्रीहरु फेरिने बित्तिकै विभिन्न नियम परिवर्तन गरेर सर्वसाधरणलाई हैरानी दिने गरिदैं आइएको छ । यसअघि पनि यहीँ नियम लागू भएकोमा पछि पुनः हटेको थियो । एक पटक लागू भएर फेल भइसकेको नियम पुनः लागू गर्न खोजिएपछि सर्वसाधरण तथा सरोकारवालाले आर्थिक लेनदेनमा पुनः यो नियम लागू गर्न लागिएको त हैन भनेर प्रश्न गर्ने गरेको पाइएको छ ।
पुतलीसडकमा भेटिएका राजु महर्जनले एक पटक फेल भइसकेको नियम फेरि लागू गर्न खोज्नु हेलमेट उत्पादन गर्नेहरुसँगको मिलेमतोमा भएको चलखेलको आशंका व्यक्त गरे । उनले मन्त्री यादवलाई यस्ता सामान्य विषयमा सर्वसाधरणलाई हैरानी दिनुको सट्टा विकास निर्माण तथा सुशासनमा ध्यान दिन सुझाव समेत दिएका छन् ।
उक्त व्यवस्थाले कानुनको रुप भने लिइसकेको छैन । मन्त्रीपरिषद हुँदै संसदबाट ऐन पास भएमा मोटरसाइकल र स्कुटरको पछाडि बसेर यात्रा गर्नेले अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने हुन्छ।