काठमाडाैं ३० कात्तिक । आसन्न मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) करण गरेको टिप्पणी गरेका छन् ।

त्रिभुज चिन्ह लिएर चुनावी मैदानमा रहेका भुसालले भने– ‘नेकपा एमाले हिजो जुन व्यवस्था विरुद्ध लड्यो, उही व्यवस्था चाहिन्छ भन्ने राप्रपा जस्तो पार्टीसँग चुनावी एकता गरेर ओलीले पार्टीलाई राप्रपाकरण गरे ।’

रुपन्देहीको देवदह नगरपालिकाका विभिन्न वडाहरूमा बुधबार घरदैलो गरिरहेका नेता भुसालले भने– ‘एमालेबाट राप्रपाका मान्छेले टिकट पाउने अवस्था आयो, हामीले जिन्दगीभर बनाएको पार्टीबाट राप्रपाहरुले टिकट पाउनु यहाँभन्दा लज्जास्पद के हुन सक्ला ?’ आफूले टिकट पाउन ओलीसँग माफी माग्नुपर्ने भनिएपछि आफूले त्यसो नगरेको उनले बताए ।

भुसालले भने– ‘दशकौं मेहनत गरेर हामी आफैले बनाएको पार्टीको टिकट पाउन ओलीसँग माफी माग्नुपर्ने अवस्था आएपछि मैले त्यसो गर्न सकिन ।’ ओलीको चाकडी गरेको भए आफू मन्त्री पनि भइरहने उनको भनाई थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।