कोशीकी स्वास्थ्यमन्त्रीले भनिन् : ‘दुबै पक्षको निशानामा परेँ’

विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफू सरकार र आन्दोलनकारी दुवैको निशानामा परेको गुनासो गरेकी छन् । आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको बताएकी हुन् । आइतबार पहिचान पक्षधर आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए ।

प्रहरीले आन्दोलनकारीलाई प्रहार गरेको अश्रुग्यासका कारण स्वास्थ्य मन्त्रालयमा समेत बस्न नमिल्ने भएको मन्त्री लिम्बुले बताइन् । ‘सरकारले गोली ठोक्ने मलाई, आन्दोलनरत पक्षले पनि ढुंगामुढा गर्ने मलाई’, उनले भनिन्, ‘ भोलि भैपरी आउने समस्याको जिम्मेवारी कसले लिने, मलाई जवाफ चाहिन्छ ।’

प्रहरीले प्रहार गरेको अश्रूग्यास स्वास्थ्य मन्त्रालय र आपूर्ति केन्द्रमा प्रहार गरेको अश्रुग्यासले असर गरेको बताउँदै उनले सुरक्षाको माग गरेकी हुन् ।
प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ता किन नगरेको भन्दै मन्त्री लिम्बुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रश्न गरिन् । मन्त्री लिम्बु जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।