काठमाडौं । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपतिकै सम्मानित भूमिका बस्न र पार्टी राजनीतिमा नफर्कन अनुरोध गर्ने निर्णयलाई खारेज गरिदिएकी छिन् ।
भण्डारीले आज पत्रकार सम्मेलन गरेर आफ्नो सदस्यता कसैले खोस्न नसक्ने समेत बताइन् । आफ्नो सदस्यता खोस्न खोजेकोप्रति आक्रोशित हुँदै उनले हुलहुज्जतले सदस्यता खोस्न नसक्ने भन्दै केन्द्रीय समिति बैठकलाई चुनौती दिइन् । बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो ।
उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा गरेको र अहिले पुनस् राजनीतिबाटै जनतासँग जोडिन लागेको भन्दै एमाले पार्टी निर्माणमा जोडिन सबैलाई आग्रह समेत गरिन् ।
‘कुनै पदप्रति लालसा, महत्वाकांक्षा र आशक्ति ममा छैन । किनकी, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु,’ उनले भनेकी छिन्, ‘मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो ।’
उनले सदस्यता नवीकरणमा रोक लगाउनुको कुनै कारण नभएको पनि बताएकी छिन् ।

