काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ । उक्त विद्यालयमा बिहिबार महानगरपालिका भित्रका विभिन्न विभागहरुले गरेको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको थियो ।
शिक्षा विभागमा प्राप्त उजुरीहरूको आधारमा गरिएको उक्त अनुगमनले विद्यालयको सञ्चालनमा गम्भीर अनियमितताहरू फेला पारेको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताए । महानगरपालिकाले विद्यालयलाई तीन दिनभित्र २२ क्षेत्र संग सम्बन्धीत कागजात पेश गर्न निर्देशन दिएको छ, अन्यथा कानून बमोजिम अगाडी बढ्ने झाले बताए ।
काठमाडौं महानगरपालिकाको शहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी विभाग, सार्वजनिक निर्माण विभाग, शहरी व्यवस्थापन विभाग र शिक्षा विभागको संयुक्त टोलीले विद्यालयको अनुगमन गरेको थियो । अनुगमनको मुख्य उद्देश्य छात्रवृत्ति कार्यक्रम, शुल्क संरचना र नियामक मापदण्डको पालनाबारे जाँच भएको थियो ।
शहरी योजना आयोगका सदस्य झाले अनुगमनको क्रममा छात्रवृत्ति कार्यक्रमको जाँचबाट सुरु गरिए पनि विद्यालयमा अन्य कैयौं समस्याहरू फेला परेको बताएका छन् ।









