समाचार टिप्पणाी
काठमाडौं । गत बिहीबार काठमाडौं महानगरपालिकाको टोली बसुन्धारास्थित मोर्गन सेकेन्डरी स्कुल/कलेजमा अनुगमनका लागि पुग्यो ।
अनुगमनपछि महानगरपालिकाको टोलीले उक्त संस्थाको दर्ता प्रमाणपत्रदेखि करचुक्तासम्मका कागजात तीन दिनभित्र बुझाउन कलेजलाई निर्देशन दिएको छ ।
त्यो दिनको घटना यतिमा मात्र सिमित भने छैन । अनुगमनमा पुगेको टोली र शैक्षिक संस्था व्यवस्थापनबीच झन्डै हात हालाहालको अवस्था समेत भएको पाइएको छ ।
महानगरपालिकाले अनुगमनका क्रममा विविध समस्या देखिएकाले कागजात पेश गर्न भनेको पत्र पठाए पनि अनुगमनका क्रममा भने बबण्डर मच्चिएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक ३० मिनेट लामो भिडियोमा स्कुल व्यवस्थापनका एक अधिकारी तपाईहरु सरकार हो हामीलाई क्रिमिनल भन्ने भनेर ठुलो स्वरले गुनासो पोखिरहेको देख्न सकिन्छ । सँगैका अर्का व्यक्ति र उनी झन् ठूलो स्वरमा क्रिमिनल भन्न पाइन्छ भन्दै आक्रोशित हुन्छन् ।
कुर्सीमा बसिरहेका महानगरपालिकाका एक अधिकृत आक्रोशलाई मत्थर पार्ने भन्दा पनि मलजल गरिरहेको देख्न सकिन्छ । उनले अझै तपाई फटाई काम गर्न बन्द गर्नुहोस् भनेर ठाडो निर्देशन समेत दिन भ्याउँछन् । उनको बोलीमा स्कुलका व्यवस्थापकलाई तिमी भनेर चेतावनी दिएका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डे पनि त्यो माहौलमा आक्रोशित जस्तै देखिन्छन् । लामो तनावपूर्ण समयपछि पाण्डे र उनका एक एसपीले सानो स्वरमा बोल्नुहोस् भनेर अघि बढेपछि माहौल केही मात्रामा मत्थर भएको देखिन्छ ।
तर, महानगरपालिकाका ती अधिकृत मलाई यो मान्छेले छोएको छ भन्दै अर्कोतिर आक्रोशित हुन्छन् । उक्त दिनको घटना निक्कै तनावपूर्ण देखिन्छ । महानगरपालिकाको अनुगमन टोली कुनै जिम्मेवारी सरकारी निकायको टोली जस्तै भने पटक्कै देखिदैन । आक्रोशमा आउनु, क्रिमिनल भन्नुलाई जायज मान्न सकिदैन । भाषागत शैलीदेखि जुन व्यवहार कुनै पनि एउटा देशको संस्था तथा नागरिकले सहने खालको समेत पाइदैन ।

विद्यालयको अनुगमनदेखि कारबाही गर्नेसम्मको अधिकार बोकेको स्थानीय तहको शैली ‘दादागिरी’ जस्तै देखिनु राम्रो कुरा हैन । स्कुल/कलेजले गल्ती गरेमा कारबाही गर्ने निकाय नै हुलहुज्जत गरेर आक्रोशमा आउनुलाई कुनै पनि हालतमा राम्रो मान्न सकिदैन । काठमाडौंका प्रमुख बालेन शाहले धेरै कामहरु राम्रो गरेर वाहवाही समेत पाइरहेको अवस्थामा यस्ता क्रियाकलापबाट भने नगरबासी चिन्तित हुने अवस्था छ ।
कलेजका सम्पूर्ण कागजात महानगरले माग गरेको छ । उक्त दिनको घटना हेर्दा महानगरपालिकाका कर्मचारीले बदलाको भावमा निर्णय गर्ने त हैनन् भनेर शंका गर्ने ठाउँ पनि भेटिन्छ ।
तर, स्कुल/कलेजको गल्ती भएमा त्यसलाई सुधार गर्ने तथा कारबाही गर्ने अधिकार महानगरपालिकाकै भएकाले निर्णय अधिकार उसमा निहित छ ।
तर, महानगरपालिकाको बिहीबार मोर्गन स्कुलमा जुन भाषा र शैली देखियो त्यो भने सच्याउनै पर्ने देखिन्छ । स्कुल/कलेजको विषयमा भने महानगरपालिका नै हो छानबिनदेखि कारबाहीसम्म गर्ने र आफ्नो नगरभित्रका शैक्षिक संस्था कस्तो बनाउने भन्ने पनि ।








