काठमाडौं । नेकपा माओवादी केन्द्रले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा भएकाे पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका हुन् । यस्तै प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत गरेका छन् ।

प्रचण्डले पार्टी पुनर्गठनसहितका ४ बुँदे प्रस्ताव अघि सारेका छन् । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विशेष महाधिवेशनका लागि तयारी गर्न अबको एक साताभित्र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने र लगत्तै महाधिवेशन आयोजक समिति गठन गर्ने बताए ।

‘केन्द्रीय समितिको बैठकबाट भएको अहिलेको अध्यक्षसहितका सबै पदाधिकारी, केन्द्रीय समिति, स्थायी कमिटी भङ्ग गरौँ’, प्रचण्डले बैठकमा गरेको प्रस्ताव उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘तलका कमिटीहरू पनि भङ्ग गरेर सबै कमिटीलाई आयोजक समिति बनाऔँ ।’

आयोजक समितिले तल्लो तहका कमिटीबाटै अधिवेशन गर्दै मङ्सिरभित्र केन्द्रको विशेष महाधिवेशन गर्ने उनको प्रस्ताव छ ।

यस्तै प्रचण्डले चुनाव र महाधिवेशनको तयारी सँगसँगै लैजान पनि अर्को प्रस्ताव गरेको ती नेताको भनाइ छ । ‘मध्यावधि चुनावमा विगतमा भन्दा अलिकति फ्रेस ढंगले उम्मेदवारहरू छनोट गर्ने, एकखालको वृहत छलफल गरेर एउटा प्रतिस्पर्धाको आधारमा त्यस्ता उम्मेदवार पनि अघि सार्ने र जनताले रुचाएका व्यक्तिहरू खोजेर सँगसँगै तयारी गरेर जाने भन्ने छ’, ती नेताको भनाइ छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।