काठमाडौं । खोटाङमा सार्वजनिक जग्गामा रहेका रुख विरुवाको धमाधम बिक्री भइरहेको पाइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित लामाखु र साकेला गाउँपालिका वडा नम्बर एकस्थित सेखुवाको बीच भागमा पर्ने साप्सु खोलामा अवस्थित मसानघट्टा लगायत क्षेत्रको सार्वजनिक तथा औंलेनी जग्गाको रुख विरुवा धमाधम बिक्री गरेकाे पाइएकाे हो ।
स्थानीयहरुले वन कार्यालय, दिक्तेलमा उजुरी गर्दा वन कार्यालयले छानबिन गर्नुपर्नेमा सुने नसुनै गरेर सार्वजनिक जग्गाको रुख विरुवा बिक्री गर्न दिइरहेको गुनासाे गरेका छन् । स्थानीयका अनुसार आज (बिहीबार) मात्र दुई ट्रक रुख बिरुवा त्यहाँबाट बिक्रीका लागि बाहिर लगिएको छ । त्यहाँ एक डेढ महिनादेखि रुख विरुवा कटान गरी बिक्री भएको हो ।
स्थानीय इन्द्र बहादुर रोकाले झण्डै २० रोपनी सार्वजनिक र औंलेनी जग्गामा रहेका रुख बिरुवाको बिक्री भएको बताए । ‘हामीले सार्वजनिक जग्गामा रहेको रुख बिरुवा कटान गर्न थालेपछि वन कार्यालयमा जानकारी गराईसकेको थियौं, तर वन कार्यालयले कुनै वास्ता नै गरेन, आज मात्र दुई ट्रक रुख बिरुवा लगिएको छ ।’ उनले भने ।
वन कार्यालय खोटाङका प्रमुख उदिम प्रसाद राईले यो विषय पहिले पनि उठेको बताउँदै आफैं गएर आवश्यक परे नापीबाट पनि मान्छे लगेर नीजिको हो वा सार्वजनिक भनेर छुट्याउने बताए । ‘म आफैं गएर अब के भएको रहेछ पत्तो लगाउँछु, यदि नीजिको रुख विरुवा काट्न अनुमति लिएर सार्वजनिक जग्गाको रुख विरुवा काटिएको रहेछ भने कारबाही गर्छौ ।’ उनले भने ।
वन कार्यालय प्रमुख राईले छानबिन गरेर कारबाही गर्ने आश्वासन दिएपनि स्थानीयले यसअघि नै उजुरी गर्दा पनि पुनः सोही सार्वजनिक जग्गाबाट रुख बिरुवाको बिक्री हुनुले वनका कर्मचारीको मिलेमतो त छैन भन्ने प्रश्न पनि उब्जाएको छ ।
वन कार्यालय प्रमुख राईले भने यदि कोही कर्मचारीको मिलेमतो भएको पाइएमा उनीहरुमाथि पनि कारबाही हुने बताए । खोटाङका अन्य ठाउँमा पनि सार्वजनिक जग्गाको रुख कटानी गरी बिक्री हुने गरेको गुनासो छ ।
साकेला गाउँपालिकास्थित बादुङमा पनि सार्वजनिक जग्गाको रुख विरूवा बिक्री भएको स्थानीयले गुनासो गरेका छन् । यसअघि, नापी कार्यालयले सार्वजनिक जग्गाको रुख बिरुवा भनेर छाडेको ठाउँमा हालै मात्र रुख विरुवा कटान गरी बिक्री गरिएको एक स्थानीयले बताए ।
वन कार्यालयमाथि शंका छ, अख्तियार जान्छौं : स्थानीय
स्थानीयले वन कार्यालयमाथि गम्भीर आशंका व्यक्त गरेका छन् । सार्वजनिक जग्गाको रुख विरुवा बिक्री वन कार्यालयका कर्मचारीको मिलेमतो बिना सम्भव नहुने भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्ने बताएका छन् ।
एक स्थानीयले वन कार्यालयमा उजुरी गर्दा पनि रुख विरुवा बिक्री भइरहनुले वन कार्यालयका कर्मचारीको मिलेमतो हुन सक्ने भन्दै अख्तियार जाने बताए ।


