काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आजबाट सुरु भएको छ । भक्तपुरस्थित सल्लाघारीमा विशेष समारोहकाबीच महाधिवेशन उद्घाटन गरिएको छ ।
महाधिवेशनको उदघाटन कार्यक्रममा एमालेले सोचे अनुरुप उपस्थिति देखिएन । उपस्थिति कम देखिएपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यहाँ उपस्थितलाई मात्र एमाले नठान्न र उपस्थितहरु एमालेको सानो एक भाग मात्र रहेको बताउनु परेको थियो ।
एमाले नेता कार्यकर्ताले अहिले उदघाटन कार्यक्रमको भन्दै असान्दर्भिक फोटोलाई भाइरल बनाईरहेका छन् । झट्ट हेर्दा आजैको कार्यक्रमको जस्तो बनाएर व्यापक सहभागिता देखिने गरी फोटोको प्रचार प्रसार भईरहेको छ । उक्त फोटो विदेशतिर भएको कुनै कार्यक्रम या त एआईबाट बनाइएको पाइएको छ ।
उक्त फोटोको प्रचार गर्नेहरुमा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतदेखि एमाले निकट पत्रकारहरु रहेका छन् । एक जना एमाले निकट पत्रकारले त सोही फोटोलाई एआईमार्फत भिडियो समेत बनाएर हैट कति धेरै मान्छे भनेर समेत प्रचार गर्न भ्याएका छन् ।
एमाले महाधिवेशनको किन हैन यो फोटो ?
एमाले नेता कार्यकर्ताले ब्यापक प्रचार गरिरहेको फोटो र आजको कार्यक्रमको मञ्च नै मिलेको छैन । आजको कार्यक्रममा मन्दिरसहितको सुन्दर मञ्च रहेको छ भने मञ्च अगाडी हरियो कार्पेट रहेको छ ।
तर, प्रचार भइरहेको फेक फोटोमा पुरै रातो मात्रै देखिन्छ । मञ्च र मञ्च अगाडीको अन्य कुनै पनि दृश्य मिलेको छैन । स्टेज र कार्पेट मात्र नभएर मञ्चको बनावटदेखि घरका तस्बीरहरु समेत फरक देखिएका छन् ।
यो तस्बीर एआईबाट बनेको हुन सक्ने बढी सम्भावना रहेको छ । हेलोखबरले गुगलमा तस्बीर म्याच गर्दा ठ्याक्कै यस्तै कुनै पनि तस्बीर फेला नपरेको हुँदा पनि यो एआईको प्रयोगबाट तस्बीर बनाइएको हुन सक्ने सम्भावना बढी छ ।
फोटोको क्रेडिट- ‘बचनराज जोशी’
एमाले नेता कार्यकर्ताले निक्कै प्रचार गरिरहेको फोटोको क्रेडिट बचनराज जोशीलाई दिइएको छ । उक्त तस्बीरलाई वास्तविक जस्तै बनाउने गरी फोटोमा एटदरेट ‘ड्रोन सट/बचनराज जोशी’ राखिएको छ ।
को हुन् बचनराज जोशी
उक्तमा फोटोको क्रेडिटमा लेखिएको बचनराज जोशीले नै उक्त तस्बीरलाई सुरुमा सार्वजनिक गरेर फेक प्रचार गरेको पाइएको छ । करिब ३ बजेतिर उक्त तस्बीर उनैले आफ्नो फेसबुकमा हालेको पाइएको छ भने सुरुमा नै उनले ‘ड्रोन सट/बचनराज जोशी’ भनेर फेसबुकमा तस्बीर राखेका थिए । फोटो हाल्दै उनले ‘नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सल्लाघारी पुरै भरिभराउ भएपछि……’भनेर उल्लेख गरेका थिए । उनी धनगढीमा बस्ने गरेका छन् ।

उनी एमाले निकटका पत्रकार हुन् । फेसबुकवालमा उनले विभिन्न एमाले नेताहरुलाई जन्मदिन लगायतमा बधाई र शुभकामना दिने गरेको पाइयो ।
फेसबुकमा गलत तस्बीर हालेपछि उनलाई गालीको वर्षात आएको छ । सोही तस्बीरमा तीन सय बढी कमेन्ट आएका छन् भने अधिकांशले आलोचना गरेका छन् ।








