काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च पुगेकाे छ । विशेष अदालबाट भएको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको हाे ।
मेलम्ची आयोजना प्रकरणमा तीन पूर्वसचिव सञ्जय शर्मा, गजेन्द्रकुमार ठाकुर र भीम उपाध्याय तथा तीन ठेकेदार कम्पनीसहित १८ जनाविरुद्ध भएको मुद्दामा विशेषले गरेको फैसला बदर एवं मागदाबी अनुसार सजाय हुनुपर्ने जिकिरसहित अख्तियारले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
विशेष अदालतले केहीलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको भए पनि अख्तियारले थप कडा कारबाहीको माग गरेको छ।
दुई वर्षअघि अख्तियारले तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित १५ व्यक्ति र कम्पनीविरुद्ध पौने ७ अर्ब बिगो मागदाबी गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दाको किनारा लगाउँदै गत वर्ष विशेष अदालतले पूर्व सचिव ठाकुरसहित ३ कर्मचारी, एक ठेकेदार र तीन ठेकेदार कम्पनीलाई दोषी ठहर गर्दै बाँकीलाई सफाइ दिएको थियो ।
विशेषको उक्त फैसला अनुसन्धाबाट खुलेका तथ्य प्रमाण तथा सर्वोच्च अदालतबाट स्थापित नजिर विपरीत भन्दै अख्तियारले मागदाबी अनुसार नै प्रतिवादीविरुद्ध बिगो कायम गरी कैद र जरिवाना हुनुपर्ने जिकिर गरेको छ ।







