काठमाडौँ । सरकारले ६० सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकबाट ६० सहसचिवको सरुवा हुँदा गृह मन्त्रालय अन्तर्गतका १३ सहसचिवको अन्य मन्त्रालयमा सरुवा भएका छन् । सरुवा हुनेमा ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि छन् ।
गृहबाट अन्य मन्त्रालयमा सरुवा हुनेमा सहसचिवहरू गोपालप्रसाद अर्याल, डा।टोकराज पाण्डेय, कल्पना श्रेष्ठ, सुनिता नेपाल, खिमबहादुर रायमाझी, नेत्रप्रसाद सुवेदी, कृष्णप्रसाद लम्साल, नारायणप्रसाद रिसाल, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बास्तोला, गोविन्दप्रसाद रिजाल, शंकरहरि आचार्य र धर्मेन्द्रकुमार मिश्र छन् ।
उनीहरूमध्ये डा. पाण्डे लमजुङ, श्रेष्ठ खोटाङ, नेपाल इलाम, सुवेदी सल्यान, नारायणप्रसाद रिसाल दोलखा, बास्तोला सिन्धुपाल्चोक, लम्साल नवलपरासी पश्चिम, र मिश्र बारामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।
सरकारले एकैपटक ८ प्रमुख जिल्ला अधिकारीको सरुवा गरे पनि ४ दिनसम्म ती जिल्लामा नयाँलाई जिम्मेवारी भने तोकिएको छैन ।
गृहबाट ८ प्रमुख जिल्ला अधिकारीसँग कारागार व्यवस्थापन विभागका महानिर्देशन लीलाप्रसाद शर्मा र मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्द रिजालको पनि सरुवा भएको छ भने अतिरिक्त समूह जगेडामा रहेका सहसचिवहरू आचार्य, अर्याल र रायमाझीको पनि सरुवा भएको छ ।
सरुवामा गृहबाट १३ सहसचिव बाहिरिँदा ७ सहसचिव भित्रिएका छन् । बिहीबारकै सरुवामा अन्य मन्त्रालय र निकायबाट उमेश ढुंगाना, शान्तिराज प्रसाई, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, रेखा कँडेल, निश्चलराज पाण्डे र राजन पौडेल भित्रिएका छन् ।







