नमुना स्कुल बनाउन नक्कली कागजात, गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र निर्माण व्यवसायीलाई मुद्दा

तस्बीरः सांकेतिक/एआई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बलानबिहुल गाउँपालिकामा निर्माण गरिएको नमूना विद्यालय भवनको ठेक्कामा गम्भीर अनियमितता भएको ठहर गर्दै पूर्व गाउँपालिका अध्यक्ष दयानन्द गोइतसहित तीन विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०७८/७९ मा ‘Construction Work for Namuna School Building’ शीर्षकमा करिब ९ करोड ८ लाख रुपैयाँ लागत अनुमान गरिएको ठेक्कामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको अख्तियारको निष्कर्ष छ। उक्त ठेक्का ओम गणेशाय कन्स्ट्रक्सन प्रा.लिलाई दिनका लागि नक्कली तथा अपुरो कार्यअनुभव प्रमाणपत्र प्रयोग गरिएको, प्राविधिक रूपमा अयोग्य कम्पनीलाई योग्य ठहर गरी आर्थिक प्रस्ताव खोल्न सिफारिस गरिएको आरोपपत्रमा उल्लेख छ।

अख्तियारका अनुसार स्ट्यान्डर्ड बिड डकुमेन्ट विपरीत लागत अनुमानको १० प्रतिशतभन्दा कम मूल्य भएका तथा BOQ मा समावेश नै नभएका ‘Key Activities’ राखेर बोलपत्र तयार गरिएको थियो। बोलपत्रसँग पेश गरिएका कार्यअनुभव प्रमाणपत्रमा आवश्यक Water Tank र White Board सम्बन्धी कामको अनुभव नरहेको भए पनि मूल्याङ्कन समितिले सबै प्राविधिक मापदण्ड पूरा भएको ठहर गरेको पाइएको छ।

गाउँपालिका अध्यक्ष स्वयंको संयोजकत्वमा मूल्याङ्कन समिति गठन गरी बोलपत्र मूल्याङ्कन गरिनु, बोलपत्र पेस भएपछि कानुनले नदिएको थप कागजात मागिनु र त्यसकै आधारमा ठेक्का स्वीकृत गर्नु पनि अनियमितता भएको अख्तियारको दाबी छ। यसरी ठेक्का सम्झौता भई हालसम्म करिब ३ करोड ९१ लाख रुपैयाँ भुक्तानीसमेत भइसकेको देखिएको छ।

अख्तियारले पूर्व अध्यक्ष दयानन्द गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र सब–इन्जिनियर तथा ओम गणेशाय कन्स्ट्रक्सन प्रा.लि. र यसको व्यवस्थापन पक्षलाई प्रतिवादी बनाएको छ। उनीहरूबाट ८ करोड ९८ लाख रुपैयाँ बराबरको बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलको मागदाबी गरिएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।