काठमाडौं । थापाथलीस्थित ब्रिटिस कलेजको घटना बाहिरिएपछि शिक्षा मन्त्रालय तातेको छ । मन्त्रालयले सबै विदेशी शिक्षण संस्थाको शुल्क र सम्बन्धको विषय स्पष्ट रुपमा देखिने गरी सार्वजनिक गर्न निर्देशन दिएको छ भने १५ दिनभित्र मन्त्रालयमा बुझाउन निर्देशन समेत दिएको छ ।
शिक्षा मन्त्री महावीर पुनले केही कलेजहरुले निर्देशिका अनुसार काम नगरेर विद्यार्थीहरुलाई राम्रो सेवा नदिएको हुनाले निर्देशन जारी गर्नु परेको बताएका छन् । मन्त्रालयले यस्ता शिक्षणसंस्थालाई १० बुँदे निर्देशन जारी गरेको हो ।
यता, मन्त्रालयले ब्रिटिस कलेजको घटनाको विषयमा छानबिन गर्न एक समिति समेत गठन गरेको छ ।
द ब्रिटिश कलेजले दर्जनौं नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय डिग्री दिने आश्वासन दिँदै अनधिकृत कार्यक्रममा भर्ना गराएर ठगी गरेको भन्दै विद्यार्थीहरुले मन्त्रालयमा उजुरी समेत दिएका थिए ।
विद्यार्थीको गुनासोपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा विभागका उपसचिव परशुराम तिवारीको नेतृत्वमा एक अध्ययन टोली समेत गठन गरेको छ।
सबै संघ संगठनहरुको एकतावद्धता
ब्रिटिस कलेजको घटना बाहिरिएपछि नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी लगायत संघ संगठनले कलेज प्रशासनलाई चेतावनी दिएका छन् ।
उनीहरुले विद्यार्थीको पैसा फिर्ता गर्न समेत माग गरेका छन् भने कलेज परिसरमा धर्ना र प्रदर्शन समेत गरेका छन् ।
कलेज प्रशासनको स्पष्टिकरण
घटना सार्वजनिक भएपछि कलेज प्रशासनले विज्ञप्तिहरु जारी गर्दै आरोप झुटो भएको जनाएको छ । कलेजले आफूले विद्यार्थीलाई इन्टर्नसिपका लागि दुबई लैजाने गरेको स्वीकार गरेको छ । तर यस्तो इन्टर्नसिप र बसोबासको प्रकृति अस्थायी किसिमको हुने गरेको कलेजको प्रष्टोक्ति छ । इन्टर्नसिपका लागि कलेजले दुबईस्थित ‘द वुलविच इन्स्टिच्युट’ शैक्षिक संस्थासँग सहकार्य गरेको र हाल त्यहाँ २५ देशका विद्यार्थी पढिरहेको जनाएको छ । 
तर, विद्यार्थीहरुले कलेजमा पढाइ हुँदै आएको बीबीए कोर्सको आधिकारिकतामाथि पनि प्रश्न उठाएका छन् । कलेजले मनलाग्दी रुपमा शुल्क वृद्धि गरेको भन्दै उनीहरुले सुरुमा साढे दुई लाख भनिएको शुल्कपछि पटक-पटक बढाइएको र दुई वर्षको कोर्सलाई ६ महिनामै सकाइदिएको र अप्सनल कोर्स समेत हटाइएको दाबी गरेका छन् ।
कलेजले ‘हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट’ कार्यक्रम अध्ययनरत् विद्यार्थीलाई इन्टर्नसिपमा संयुक्त अरब इमिरेट्सको दुबई लैजाने क्रममा त्यहाँ कलेजले आफूहरुलाई मजदुरी गर्न बाध्य पारेको, राम्रो पैसा पनि हुन्छ भनेपनि अलपत्र पारेकाे लगायतका आरोप लगाएका छन् ।








