काठमाडाैं । रुपन्देहीमा अवस्थित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल ब्रान्ड ‘मेरियट इन्टरनेश्नल’ सँग सहकार्य गर्दै अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ का रूपमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ। रिसोर्ट र म्यारियट इन्टरनेशनलबीच होटल म्यानेजमेन्ट एग्रिमेन्ट (HMA) सम्पन्न भएसँगै ब्रान्ड रूपान्तरणको औपचारिक घोषणा गरिएको हो।
यस सम्झौतासँगै काठमाडौँ उपत्यकाबाहिर म्यारियट इन्टरनेशनलको पहिलो र एकमात्र उपस्थितिका रूपमा लुम्बिनी म्यारियट स्थापित हुने भएको छ। सम्झौता कार्यक्रममा रिसोर्टका अध्यक्ष दीपक पाण्डे, प्रबन्ध सञ्चालक रोशनकुमार न्यौपाने तथा अन्य सञ्चालकहरूका साथै म्यारियट इन्टरनेशनलका एशिया प्यासिफिक क्षेत्र हेर्ने प्रमुख सञ्चालन अधिकृत निरज गोभिललगायत वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।
२०७५ सालदेखि सञ्चालनमा आएको लुम्बिनी प्यालेस रिसोर्ट पछिल्ला तीन वर्षदेखि निरन्तर नाफामा रहेको कम्पनी हो। कम्पनीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे होटल सञ्चालनको अनुमति लिने लक्ष्य राखिएको छ। पूर्ण रूपमा सञ्चालनमा आएपछि यो रिसोर्ट नेपालकै पहिलो र एकमात्र अत्याधुनिक ‘वाटर रिसोर्ट’का रूपमा विकास हुनेछ। यहाँ म्युजिकल फाउन्टेन, थ्री–डी वाटर स्क्रिन, वाटर शो, मिनी क्रुज, मोटर बोटिङ, वाटर रेष्टुरेन्ट, वाटर स्पा लगायत दर्जनौँ जलआधारित आकर्षण उपलब्ध हुनेछन्।
रिसोर्टलाई वातावरणमैत्री अवधारणामा विकास गर्दै नेपालकै पहिलो ‘ग्रीन सर्टिफिकेसन (गोल्ड)’ प्राप्त वेलनेस तथा इको रिसोर्ट बनाउने लक्ष्य लिइएको छ। साथै अर्गानिक सर्टिफिकेसनसहितको नेपालकै पहिलो अर्गानिक फाइभ स्टार वेलनेस लक्जरी रिसोर्टका रूपमा विकास गर्ने योजना पनि रहेको छ।
खेल, सांस्कृतिक र आध्यात्मिक पर्यटनलाई एकै स्थानमा समेट्दै बुद्ध थिम पार्क, मिनी स्तुपा, बुद्ध संग्रहालय, ध्यान क्षेत्र र सांस्कृतिक केन्द्रहरू निर्माण गरिनेछन्। कम्पनीका अध्यक्ष पाण्डेका अनुसार अन्तर्राष्ट्रिय स्तरका सभा–सम्मेलन, विवाह तथा विशेष कार्यक्रमका लागि यो रिसोर्ट उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ।
रिसोर्टको व्यवस्थापन सुदृढ बनाउन करिब २७ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय होटल व्यवस्थापन अनुभव हासिल गरेका बिजयनानमरन सान्मुगमलाई Vice President – Operations and Assets Development का रूपमा नियुक्त गरिएको छ। साथै अन्य अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरू पनि व्यवस्थापन टोलीमा समावेश गरिएका छन्।
रिसोर्ट सञ्चालनले स्थानीय रोजगारी सिर्जना, स्थानीय उत्पादनको उपयोग, पर्यटन प्रवर्द्धन र समग्र अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पुर्याउने अपेक्षा गरिएको छ। कम्पनीले निकट भविष्यमा प्राथमिक सेयर (IPO) निष्कासन गर्ने तयारी पनि अघि बढाएको जनाएको छ।







