नेपाल बैंकमा मेरिट र सिनियारिटी लत्याइयोः सिनियर छाडेर जुनियरलाई डीसीईओ नियुक्ति

काठमाडौं । सरकारी स्वामित्वको नेपालकै सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को नियुक्ति बरिष्ठता र कार्यसम्पादन मूल्यांकन (कामसु) लाई लत्याउँदै पूर्वाग्रहका आधारमा भएको पाइएको छ ।

बैंक ब्यवस्थापनले डीसीईओ नियुक्ति गर्दा निमित्त डीसीईओ रहेका विश्वराज बराल र प्रकाशकुमार अधिकारीलाई पाखा लगाएर उनीहरु भन्दा जुनियर र कार्यसम्पादनमा पनि कम नम्बर भएका होमराज खड्कालाई नियुक्त गरिएको हो ।

मेरिट सिस्टमलाई नै भत्काएर जुनियरलाई नियुक्त गरेपछि अब बैंकमा सिनियारिटी र कामसमाथि नै प्रश्न चिह्न खडा भएको छ भने बढुवाका लागि कार्य सम्पादन र अनुशासन भन्दा पनि शक्ति केन्द्र धाउने र आर्थिक चलखेल बढ्ने बाटो बैंक व्यवस्थापन तथा बोर्डले औपचारिक रुपमा खुला गरिदिएको छ ।

डीसीईओ नियुक्तिका विषयमा बैंकका अध्यक्ष डिल्लिराज शर्मासँग पटक-पटक कुरा गर्ने प्रयास भएपनि उनी सम्पर्कमा आउन चाहेनन् । उनले नियम संगत नै निर्णय गरेको भनेर आफ्नो बचाउ गर्ने गरेका छन् ।

बैंक स्रोतका अनुसार बराल र अधिकारीको कामसु ३६/३६ नम्बर रहेको छ भने खड्काको २९ मात्र रहेको छ । तीनै जना विसं २०६१ भदौ १ गते नेपाल बैंकमा प्रवेश गरेका थिए ।

कार्यसम्पादन र अन्य मूल्याङ्कनका आधारमा खड्काभन्दा दुई वर्षअघि बराल र अधिकारी सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ)मा बढुवा भएका थिए ।

तर, डीसीईओ नियुक्तिमा भने उनै खड्कालाई सञ्चालक समितिले टपक्कै पिटेर ल्याएको हो । यो निर्णयले बैंकमा रहेका इमान्दार तथा राम्रो काम गरेर बढुवा हुने सपना देखेका कर्मचारीहरुलाई भने ठुलो भय पैदा गरिदिएको छ ।

बराल र अधिकारी दुवै जना अवकाशको नजिक छन् । डीसिईओ नियुक्तिसँगै निमित्त डीसिईआको जिम्मेवारी सम्हाल्दै आएका बराल कार्यालय समेत नगएको बताइन्छ ।

नियुक्तिमा राजनीतिक गन्ध
नेपाल बैंकको डीसिईओ नियुक्तिमा राजनीतिक गन्ध आएको पनि बताइन्छ । अधिकारी कुनै पार्टीसँग खासै नखुलेका र बराल कम्युनिष्टधारका भएकाले उनीहरुलाई पाखा लगाइएको बताइन्छ । बैंकका सिईओ तिलकराज पाण्डे डेमोक्रेटिक हुन् । अध्यक्षसहित सञ्चालक समितिमा डेमोक्रेटिकको बाहुल्यता छ ।

यति मात्र नभएर राष्ट्र बैंकले समेत डीसिईओ नियुक्तिमा चासो देखाएको बताइन्छ । गभर्नर डा. विश्वनाथ पौडेल कांग्रेसमा सक्रिय राजनीति गरेका व्यक्ति हुन् ।

अर्थमन्त्रालयका सहसचिव तथा बैंक सञ्चालक समिति सदस्य रहेका महेश भट्टराईको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।

यो सबै प्रक्रियाको नजिक रहेर हेरिरहेका एक बैंकर भन्छन्, ‘यो पटक नेपाल बैंकको डीसिइओ नियुक्तिमा पुरै राजनीतिक चलखेल भयो, सिनियारिटी, कामसु, सुशासन सबैलाई पाखा लगाइयो, यो राम्रो हैन, यसले वित्तिय अराजकता र बैंकिङ क्षेत्रमा ठूलो असर पार्छ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।