वालिङ महोत्सवः घुमाउने घर र जलपरीमा धेरैको आकर्षण

0Shares

वालिङ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुल नारा सहित संचालन भएको नवौं वालिङ महोत्सवमा दर्शकहरुको उत्साहजनक सहभागिता देखिएको छ ।

वालिङ उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा निर्माण गरिएको परम्परागत गोल घरमा टिकटक र फोटो खिचाउनेको भीड देखिन्थ्यो भने महोत्सवको आर्कषणको रुपमा रहेको जलपरी अवलोकनका लागी दर्शकहरु लालायित देखिन्थे ।

शनिबार रत्यौली गित प्रतियोगिता र विद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि सञ्चालन गरिएको छ । महोत्सवको चौथो दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

शनिबार चर्चित सुगम संगीतका गायक शिव परियारको विषेश प्रस्तुति रहेको थियो भने लोक तथा दोहोरीतर्फ खुमन अधिकारी, सविना गुरुङ, लक्ष्मण ठकुरी, कमला गैह्रेको प्रस्तुति पनि रहेको थियो ।

यस्तै, शनिबार हास्यतर्फ पुरुषोत्तम भण्डारीको प्रस्तुति तथा आशिका श्रेष्ठको नृत्य पनि रहेको थियो ।

महोत्सवमा आइतबार चर्चित गायिका मेलिना राइको साथमा अन्य राष्ट्रिय कलाकारहरु सरस्वती लामिछाने, रामजी खाँड, दिपेन्द्र केसी, रबिना गुरु तथा पुजा गुरुङको प्रस्तुति रहने आयोजक वालिङ उद्योग वाणिज्य संघका सचिव तथा प्रचारप्रसार एवम् कलाकार व्यवस्थापन संयोजक पिताम्बर खनाल सुशिलले जानकारी दिनुभयो ।

यस्तै आइतबार डान्सर सभ्यता काफ्लेको साथमा कार्यक्रम सञ्चालकहरु घनश्याम रिजाल, म्ना अर्याल र जगत गौडेलको प्रस्तुति पनि रहने उहाँले जानकारी दिनुभयो ।
विगतका संस्करण भन्दा नवौँ संस्करणमा दर्शकहरुलाई पृथक र नयाँपन दिने प्रयास गरिएको छ ।

महोत्सवमा विभिन्न विद्यालयका विज्ञान तथा शैक्षिक प्रर्दशनी समेत राखिएको छ । ४०० स्टलहरु रहेका महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक स्टलहरु रहेका छन् ।

मघ २५ गतेसम्म १२ दिन सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, टिकटक प्रतियोगिता, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणका रुपमा रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।