काठमाडौँ, ३ असार । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम ‘डबल फास्ट ट्र्याक’बाट गर्नुपर्ने धारणा राखेका छन् ।
 बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन आएको नेपाल आदिवासी जनजाति महासङ्घका प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री कोइरालाले यस्तो बताएका हुन् ।  “अरुले फास्ट ट्र्याक भनेका छन्,” उनले भने , “म भन्छु फास्ट ट्र्याकले मात्र पुग्दैन, डबल फास्ट ट्र्याकमै जाऔँ ।” 
सो अवसरमा प्रधानमन्त्री कोइरालाले भने,  – “संविधान छिट्टै बनाउन परेको छ । पार्टीहरु आत्तिन थाले । म अँठ्याएर त बस्ने हैन । संविधान ल्याउनुहोस्, घोषणा भएको दिन छोड्छु ।” 
संविधान जारी गर्ने प्रक्रियालाई छोटो बनाउन सकिने तर मिचेर जान नहुने उनको भनाइ थियो । प्रधानमन्त्री कोइरालाले प्रक्रिया नमिचिकन जनतामा जाने समय घटाउन सकिने स्पष्ट पारे । 
उनले आदिवासी जनजाति नेतासँग चार पार्टीबीच भएको सहमतिले संविधानको प्रारुपमात्र बनेको उल्लेख गर्दै संविधानको विषयमा छलफल गर्ने अधिकारबाट जनता वञ्चित नहुने बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।