पाइल्स मलद्वारमा देखिने समस्या हो । मलद्वारमा रहेको रक्तनली सुन्निनु
अर्थात् रक्तनलीका तन्तु तथा मांसपेशी सुन्निएर स–साना डल्ला निस्कनुलाई
पाइल्स अर्थात् हेमोरोइड भनिन्छ । जति यस तन्तुमा बल पुग्छ त्यत्ति नै
सुन्निने हुन्छ । पाइल्स मलद्वारको बाहिरी अथवा भित्री भागमा पनि हुन सक्छ ।
यस्तो अवस्थामा ग्रसित व्यक्तिलाई बस्न, दिसा गर्न गाह्रो हुन्छ । जटिल
अवस्थाको पाइल्स छ भने असह्य पीडा हुनुको साथै दिसामा रगत देखिने हुन्छ ।
यस अवस्थामा बढी रगत बग्ने हुँदा रक्तअल्पताको समस्या आउन सक्छ । त्यसैले
समयमै औषधि उपचार एवम् शल्यक्रियतासमेत गर्नुपर्ने हुन्छ ।

पाइल्स जो–कोहीलाई हुन सक्छ । तर पनि ४५ देखि ६५ वर्ष उमेरका वयष्क तथा
प्रौढ व्यक्तिहरुमा यसको सम्भावना बढी हुन्छ । विशेष गरी लामो समयसम्म
कब्जियतको समस्या भई दिसा गर्दा बल गर्नुपर्ने स्थितिमा पाइल्स हुन्छ ।
साधारणतया वयष्क एवम् प्रौढावस्थामा मलद्वारको तन्तु–मांसपेशी कमजोर हुने,
शरीरमा पानीको मात्रा कमी हुने र भोजनमा फाइबरयुक्त पदार्थको कमी हुनाले
दिसा गर्ने समयमा बढी बल गर्नुपर्ने स्थिति सृजना हुन्छ । यसले गर्दा
मलद्वारको नरम तन्तुमा तनाव पर्न गई सुन्निने र फलस्वरुप पाइल्स निस्कने
हुन्छ ।

हुन त परिवारमा कसैलाई पाइल्स छ भने अन्य सदस्यमा पनि यो समस्याको सम्भावना
बढी हुन्छ । तर व्यक्तिको जीवनशैली, दैनिक क्रियाकलाप, बानी, शारीरिक
अवस्था, खानपानको प्रवृत्ति आदिले पनि प्रभाव पारेको हुन्छ । महिला–पुरुष
दुवैमा पाइल्स हुन सक्छ । तर गर्भवती महिलामा यो समस्या बढी हुन्छ । यस
समयमा शरीरमा निस्कने हर्मोन प्रोजेस्टेरोनको कारण मलद्वारको कोष तथा
तन्तुहरु नरम हुन्छन् र थोरै बल पर्दा पनि तन्तुहरु सुन्निने भई पाइल्स हुन
सक्छ ।

यसै गरी व्यक्तिको दैनिक क्रियाकलाप पनि यो समस्याको कारण बन्न सक्ने कुरा
अध्ययनले देखाएको छ । लामो समयसम्म मेचमा बसेर काम गर्ने वा लामो समय उठेर
काम गर्ने व्यक्ति तथा गह्रौं सामान बोक्ने व्यक्तिमा पाइल्सको समस्या हुन
सक्छ । त्यसै गरी लामो समय शौचालयमा बस्ने बानी भएका व्यक्ति, शरीरको तौल
आवश्यकताभन्दा बढी भएका मोटा व्यक्ति, शारीरिकरुपले सक्रिय नभएका
व्यक्तिहरुमा यो समस्या आउन सक्छ । दैनिक खाना खाने प्रवृत्ति र भोजनमा
समावेश गरेका खाद्यपदार्थले पनि पाइल्स हुनमा टेवा पुर्याएको हुन्छ ।

पाइल्समा खाना व्यवस्थापन
कब्जियत नै पाइल्सको प्रमुख कारण भएकाले यसबाट बच्न भोजनमा विशेष सतर्कता
अपनाउनुपर्ने हुन्छ । कब्जियत हुन नदिन भोजनमा फाइबरयुक्त खस्रो पदार्थ
आवश्यक मात्रामा समावेश गर्नुपर्छ । अन्नको बाहिरी भाग, दाल–गेडागुडीको
खोस्टा, फलफूलको बोक्रा तथा रेसा, सागपातमा प्रशस्त फाइबर पाइन्छ । फाइबर
कार्बोहाइड्रेटको एक प्रकार हो, तर पाचन नभईकन शरीरबाट निष्कासित हुने
हुँदा यसले शक्ति पनि दिँंदैन । यसले भोजनको परिमाण भने बढाउँछ । फाइबरमा
बढी खस्रोपन हुने भएकाले पाचनक्रियामा मद्दत पुर्याउँछ । खस्रोपनको कारण
आन्द्रामा कस्सिएर जम्ने नभई सजिलैसँग दिसाको रुपमा शरीरबाट बाहिर
फ्याँकिन्छ । जबकि फाइबर कम भएको खाद्यपदार्थमा खस्रोपनको कमीले गर्दा
पाचनपछि बाँकी रहेको कसर दिसाको रुपमा निस्कँदा लेस्याइलो र कस्सिने भई बढी
बल प्रयोग गर्नुपर्ने हुन्छ । यसले गर्दा मलद्वारको तन्तुमा बल परी पाइल्स
हुन सक्छ ।

त्यसकारण खाद्यपदार्थको छनोट गर्दा बढीभन्दा बढी फाइबर प्राप्त हुने
किसिमले व्यवस्था गर्नुपर्छ । एक वयष्कलाई प्रतिदिन २० देखि ३५ ग्राम फाइबर
अँवश्यक हुन्छ । फाइबरको आवश्यकता व्यक्तिको उमेर र लिंगअनुसार फरक हुन्छ ।
५० वर्ष उमेरको प्रौढ पुरुषलाई प्रतिदिन ३८ ग्राम फाइबर आवश्यक हुन्छ भने
सोही उमेरकी महिलालाई २५ ग्राम सिफारिस गरिन्छ । गर्भवती वा सुत्केरी महिला
भएमा दैनिक सोभन्दा बढी ३० ग्राम फाइबर आवश्यक पर्छ । ५१ वर्षभन्दा बढी
उमेरको छ भने दैनिक आवश्यकता पुरुषको लागि ३० ग्राम र महिलाका लागि २१
ग्राम भए पुग्छ ।  खाद्यपदार्थको छनोट गर्दा बढी फाइबर पाउने खाद्यपदार्थ
वा परिकारलाई प्राथमिकतामा राख्नुपर्छ । अन्नबाट बनेको परिकार छनोट गर्दा
चोकरसमेत भएको खाद्यपदार्थ छनोट गर्नुपर्छ । जस्तै– मैदाबाट बनेको
परिकारभन्दा आँटाबाट बनेको परिकार भोजनमा समावेश गर्नुपर्छ । किनकि
चोकरसहितको आँटामा प्रशस्त फाइबरका साथै आवश्यक अन्य पौष्टिक तत्त्व पनि
हुन्छ ।

यसैगरी दाल–गेडागुडी पनि फाइबरका उत्तम खाद्यस्रोत हुन् । बोक्रासहितको
कुनै पनि गेडागुडी प्रोटिन, कम्प्लेक्स कार्बोहाइड्रेट, भिटामिन ‘बी’,
लौहतत्त्व, खनिज र फाइटोन्यूट्रिन्ट्सको राम्रो स्रोत हो । साथै यसमा फाइबर
पनि प्रशस्त मात्रामा पाइन्छ । गेडागुडीलाई भिजाई टुसा निकालेको छ भने
पौष्टिक तत्त्वको साथै फइबरको परिमाणसमेत बढ्ने हुन्छ । कम्तीमा दैनिक दुई
पटक (एकपटकमा काँचोमा २५ ग्राम) कुनै पनि प्रकारको गेडागुडी भोजनमा समावेश
गर्नु लाभदायक हुन्छ ।

त्यसै गरी ताजा फलफूल र हरियो सागसब्जी पनि फाइबरका उत्तम खाद्यस्रोत हुन् ।
भिटामिन तथा खनिज तत्त्वको पनि महत्त्वपूर्ण स्रोत भएकाले पाइल्सको समस्या
भएका व्यक्तिको भोजनमा नियमित फलफूल एवम् सागसब्जी समावेश गर्न आवश्यक
हुन्छ । स्याउ, केरा, अम्बा, अनार, नासपातीजस्ता फलफूल तथा सिमी, केराउ,
कोसा, ब्रोकाउली, सलगम, गाजरजस्ता तरकारी भोजनमा समावेश गर्नुपर्छ । फलफूल
१०० ग्रामका दरले दैनिक दुई पटक र तरकारी पनि काँचोमा १०० ग्रामका दरले
दैनिक २–३ पटक भोजनमा समावेश गर्नुपर्छ । दाख, अंजिर, खुर्पानी, सुकेको
आलुबखडा आदि पनि फाइबरको उत्तम स्रोत हुनाले भोजनमा समावेश गर्न सकिन्छ ।
पाइल्सका बिरामी कब्जियतको सिकार हुने भएकाले प्रशस्त पानी पिउनु जरुरी
हुन्छ । साथै बढी फाइबरयुक्त खाना खाएको समयमा प्रशस्त पानी लिनुपर्ने पनि
हुन्छ ।

पाइल्सका बिरामीको दैनिक खानामा फाइबरयुक्त खाद्यपदार्थ समावेश गर्दा
व्यक्तिको अवस्था ध्यानमा राख्नुपर्छ । एकै पटक धेरै मात्रामा फाइबर भएको
खानेकुरा भोजनमा समावेश गर्दा पचाउन गाह्रो हुने, वाकवाक लाग्ने, पेट भरिई
असजिलो हुने हुन्छ । साह्रो प्रकारले पाइल्स भएको छ भने सर्वप्रथम बिरामीको
पेट सफा गर्न दुई दिन जति फलफूलभित्रको गुदी र राम्ररी पकाएको
साग–तरकारीको सुप दिनुपर्छ । त्यसपछि फलफूलको पूरै भाग, साग–तरकारीको
चोक्टासहितको सुप, गेडागुडीसहितको रस दिन सकिन्छ । अनि मात्र हरेक छाकमा
फरक–फरक प्रकारको फाइबरयुक्त खाद्यपदार्थ समावेश गर्दै लग्नुपर्छ ।

परहेज गर्नुपर्ने खाद्यपरिकार
पाइल्सका बिरामीले क्याफिनयुक्त कफी, चियाजस्ता झोल पदार्थ र अल्कोहलजस्ता
पेयपदार्थको सेवनमा सकेसम्म परहेज गर्नुपर्छ । यी खाद्यपदार्थले शरीरमा
डिहाइड्रेसन गरी अझ समस्या बल्झाउने हुन्छ । तारेको, भुटेको तथा चिल्लो बढी
हाली पकाएका खाद्यपदार्थ नखाँदा बेस हुन्छ । यस प्रकारका खाद्यपदार्थले
पाचनप्रक्रियामा गडबडी पैदा गर्नुका साथै दिसाको स्वरुपमा खस्रोपन कम भई
लेसिने हुन्छ, जसले गर्दा शरीरबाट निष्कासन गर्न गाह्रो हुन्छ । गुलियो तथा
बढी मसलायुक्त खाद्यपदार्थको प्रयोगमा पनि ध्यान दिनुपर्छ । मसलादार
खानाले थप जलन पैदा गर्ने भएकाले सकेसम्म कम चिल्लो, कम मसला हालेको परिकार
भोजनमा समावेश गनुपर्छ । तयारी खाद्यपदार्थ विशेषतः रिफाइन्ड अन्न तथा
पीठोबाट बनेको परिकार खानामा समावेश गर्नुहुँदैन ।

पाइल्स हुनेले अपनाउनुपर्ने सावधानी
गलत प्रकारको खाना खाने प्रवृत्ति पनि पाइल्सको एक प्रमुख कारण भएकोले
दैनिक खाना खाने बानीमा परिवर्तन तथा परिमार्जित गरी असल बानीको विकास
गर्नुपर्ने हुन्छ । पाइल्सको समस्यालाई कम गर्न तथा यसबाट बच्न
खानासम्बन्धी केही कुरामा ध्यान दिन जरुरी हुन्छ ।

दैनिक २–३ पटक धेरै खाना खानुभन्दा पनि समय मिलाई सोही खानाको परिमाणलाई ५–६ पटकको छाकमा मिलाएर खाँदा उपयुक्त हुन्छ ।
दिसा खलासको उपयुक्त माध्यम पानी भएकाले दैनिक समय–समयमा कम्तीमा पनि डेढ–दुई लिटर पानी पिउनुपर्छ ।
पानीबाहेक फलको रस, तरकारी–दालको रस तथा फर्सी, गाजरको सुप भोजनमा समावेश
गर्दा शरीरले झोल पदार्थ प्राप्त गर्नुका साथै आवश्यक खनिज तथा भिटामिन पनि
प्राप्त गर्न सकिन्छ ।
यस अवस्थामा खाद्यपदार्थमा भएको फाइबरले महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा
यो पदार्थ भएको खाद्यपदार्थ जस्तै– पूरै अन्न, ताजा फलफूल, हरियो सागसब्जी
भोजनमा समावेश गर्नुपर्छ ।
खानामा विशेषतः सुन्तला रंगका तरकारीहरु, चिल्लो निकालेका दूध समावेश
गर्नुपर्छ । यी खाद्यपदार्थमा फ्लाबिनोइड तथा एन्टिअक्सिडेन्ट हुने भएकाले
रोगप्रतिरोधात्मक शक्ति बढाउनुको साथै जलनको समस्या कम गर्न मद्दत पुग्छ ।
साथै रक्तकोशिकाहरुलाई बलियो बनाउन पनि मद्दत पुग्छ ।
खानाबाट फाइबर प्राप्त गर्न नसकेको अवस्थामा डाक्टरको सल्लाहअनुसार फाइबर
सप्लिमेन्ट लिनुपर्ने पनि हुन्छ । यस अवस्थामा प्रशस्त पानी, फलको रस,
हर्बल चिया, क्याफिन नभएको पेयपदार्थ भोजनमा समावेश गर्नुपर्छ । किनकि
फाइबर भएको खाना खाँदा पानीको मात्रा बढी लिनुपर्छ ।
खाना सधैँ नियमित समयमा खानुका साथै राम्ररी चपाएर बिस्तारै खानाले पाचनक्रिया सुचारु राख्न मद्दत पुग्छ ।
पाइल्सको समस्या हुनेले आफ्नो जीवनशैली, बानी, प्रवृत्तिमा परिमार्जन गरी
शारीरिक सक्रियताका साथ शरीरको तौल ठीक राख्न सकेमा यो समस्या कम गर्न
सकिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।