मोरङ, ५ साउन । ग्राहकले जडान गर्ने बिजुलीको  मिटर आपूर्तिमा ढिलाइ हुँदा पूर्व क्षेत्रमा विद्युत् विस्तारको काम प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका सबै ग्राहक सेवा कार्यालयमा मिटरको अभाव भएकाले विद्युत् विस्तारको काम प्रभावित भएको हो ।

पूर्व क्षेत्रका सबै जिल्लामा ग्राहकले तीन महिनादेखि विद्युत् जडान सेवा प्राप्त गर्न सकेका छैनन् । ग्राहक नयाँ मिटर जडान गराउन दिनहुँ कहिले मिटर आउँछ र घरमा बिजुली जडान गर्न पाइन्छ भन्दै नजिकको विद्युत् प्राधिकरणको शाखा र उपशाखा कार्यालय धाइरहेका छन् । पटकपटक यसरी प्राधिकरणको कार्यालय धाउँदा ग्राहकहरूले हैरानी पाइरहेका छन् ।

क्षेत्रीय विद्युत् प्राधिकरणका प्राविधिकहरूका अनुसार नयाँ मिटर नहुँदा नेपाल विद्युत् प्राधिकरणले पूर्वमा ग्राहक विस्तार गर्न पाएका छैनन् । साथै मिटर नभएकै कारण विद्युत् चोरी नियन्त्रण अभियानमा पनि बाधा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका अनुसार पूर्वमा तत्काल २२ हजार थान मिटरको आवश्यकता छ । प्राधिकरणका क्षेत्रीय प्रमुख दीपक आर्चायले खरिद प्रक्रियामा ढिलाइ हुँदा पूर्र्वमा मात्र नभएर देशैभर मिटर अभाव भएको जानकारी गराए । उनले खरिद प्रक्रिया अगाडि बढिसकेकाले डेढ महिनापछि मिटर आपूर्ति हुने जानकारी गराए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।