ललितपुर । ललितपुर महानगरपालिकाले आज फागुन ५ गते महानगरपालिका र १ देखि २९ वटै वडा कार्यालयमा सार्वजनिक बिदा दिएको छ । तर, बिदाका लागि भनेर निकालिएको सूचना अस्पष्ट र गल्ती रहेको पाइएको छ ।
सार्वजनिक बिदाकाे सूचना निमित्त प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर क्षेत्रीले आदेश अनुसार जारी गरेका हुन् । आज बिदा दिनुको कारण महानगरपालिकामा लामो समयसम्म नेतृत्व गरी उल्लेखनिय योगदान गरेका पूर्व प्रमुख बेखारत्न शाक्यको असामयिक निधन भएकाले शोकका लागि सार्वजनिक बिदा दिने सूचनामा उल्लेख छ ।
सूचनामा गल्ती
सार्वजनिक बिदा सम्बन्धी सूचना फागुन ४ गते २०७६ मा जारी गरिएको छ । बिदा सम्बन्धी सूचनामा भने शाक्यको निधन २०७६/१०/०४ गते भएको लेखिएको छ । यस्तै, भोलि २०७६/१०/०५ गते सार्वजनिक बिदा दिने उल्लेख छ । विज्ञप्ति जारी भएको मिति भने २०७६/११/०४ मा रहेको छ । सूचना जारी भएको मितिका आधारमा आज (सोमबार) सार्वजनिक बिदा दिइएको हो । तर सूचनामा उल्लेखित विवरण हेर्ने हो भने माघ ५ गतेका लागि भन्ने बुझिन्छ । पूर्व प्रमुख शाक्यको निधन फागुन ४ गते भएपनि टाइप गर्ने क्रममा महानगरको सूचनामा १० महिना हुन गएको बुझिएको छ ।

विद्यालय अन्यौल
महानगरपालिको सूचनामा शोकका लागि यस कार्यालय र अन्तर्गतका १ देखि २९ वटै वडा कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको व्यहोरा आदेश अनुसार सम्बन्धित सबैमा सूचित गरिन्छ भनि उल्लेख छ । तर, बिदा सम्बन्धित महानगरपालिका र वडाका कर्मचारीलाई मात्रै हो कि शैक्षिक संस्थाहरुका लागि पनि भन्ने अन्यौल देखिएको छ । जसका कारण ललितपुरका कतिपय शैक्षिक संस्था खुलेका छन् भने कतिपय बिदा भएको पाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।