१२ वैशाख २०७२ नेपालमा महाभूकम्प गएको दिन- आज ५ वर्ष पूरा भएको छ । भूकम्पका कारण ८ हजार ६ सय ३३ जनाको मृत्यु भएको थियो भने करिब २२ हजार व्यक्तिहरू घाइते भएका थिए । प्रभावित जिल्लामा बसोबास गर्ने व्यक्तिहरूले नराम्रोसँग मानविय तथा भौतिक क्षति व्योहोर्नु परेको थियो । गोरखाको बारपार्क केन्द्र.बिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
पुननिर्माणले नाकाबन्दीदेखि कोरोनासम्म बेहोर्यो
राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरस (कोभिड–१९) ले पुननिर्माणमा प्रभाव पारेको जनाएको छ । प्राधिकरणका प्रमुख ज्ञवालीले कोरोनाको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको जनाउँदै देशमा एक महिनादेखि लकडाउन जारी रहेको र पुनर्निर्माण तथा पुनस्र्थापनाका क्षेत्रमा द्रुत गतिमा काम जारी रहेका बेला कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सिर्जित नयाँ खालको परिस्थितिले पुनर्निर्माण र पुनस्र्थापनाका कार्य गम्भीर रूपमा प्रभावित भएको जनाएका छन् । राजनीतिक अस्थिरता, दक्षिणी सीमामा भएको नाकाबन्दी, जनशक्ति र वित्तीय स्रोतको अभाव, भौगोलिक विकटता, सङ्घीयता कार्यान्वयनको संक्रमणकालीन अवस्था, तीन तहका सरकारहरूको निर्वाचनमा केन्द्रित हुनुपरेको अवस्था, कर्मचारी समायोजन जस्ता समस्या तथा चुनौती सामना गर्नुपरेको छ ।
३ खर्ब ८१ अर्ब खर्च
प्राधिकरणले हालसम्म ३ खर्ब ८१ अर्ब खर्च भएको जनाएको छ । पुनर्निर्माणका क्रममा सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ गरी ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
४ लाख ९४ हजार ४४ निजी आवासको निर्माण
भूकम्प र त्यसपछिका परकम्पनबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्थापनाका लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर काम गर्दै आएको छ । प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीका अनुसार निजी आवास पुनर्निर्माणका लागि ७ लाख ८१ हजार १७६ लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । थप १ लाख ९० हजार १ सय ४५ अर्थात २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेका छन् । अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या ५ लाख ६१ हजार ६ सय ५० अर्थात ७२ प्रतिशत छ ।