काठमाडौं १७ वैशाख । निक्कै चर्चा र विवादमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आज (बुधबार) बसेको बैठकमा कुनै निर्णय हुन सकेन । पुनः २० वैशाखमा अर्को बैठक बस्ने भन्दै बुधबार बसेको सचिवालय बैठक सकिएको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सबैले आ–आफ्नो धारणा राखेको र अर्को बैठक २० वैशाखमा बस्ने सहमति भएको जानकारी दिए । २० गते बस्ने बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टी भित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेको स्थायी कमिटी बैठकबारेमा छलफल भए पनि कुनै निष्कर्ष भने पुग्न नसकेकाे हाे । प्रवक्ता श्रेष्ठले सचिवालयको बैठकले सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने बताएका छन् ।

