काठमाडौं १८ वैशाख । थर्मल गन कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल २५ लाख बढी तिरेर छुटे लगत्तै पुनः पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्ने भएपछि महानगरीय परिसर काठमाडौंले अदालत परिसरबाटै उनलाई पक्राउ गरेको हो । कालोबजारीबाटै अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने भन्दै सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान सुरु गर्ने भएको हो ।
अग्रवाललाई बिहिबार जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतमा बिहीबार थुनछेक बहसपछि न्यायाधिश ब्रजेशकुमार प्याकुरेलको इजलाशले उनलाई २५ लाख ५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।
व्यापारी अग्रवालले कोरोना भाइरसको सन्त्रास भएका बेला ४ हजार १ सय १० रुपियाँ ९४ पैसा पर्ने थर्मल गनलाई १५ हजार रुपियाँका दरले बिक्री गरेको आरोप सरकारले लगाएको थियो ।

