काठमाडौँ । भारतले नेपालको लिपुलेक हुँदै चीनसँगको नाका जोड्ने सडक महिनौंदेखि बनाइरहेको थियो । तर भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार त्यसको उद्घाटन गरेपछि मात्र नेपाल सरकारले थाहा पाएजस्तो गरी प्रतिक्रिया जनायो, मानौं सडक एकै रातमा बनेर उद्घाटन गरियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यस विषयमा भारतीय पक्षसँग विस्तृत विवरण मागेर हेर्ने र त्यसपछि यस सम्बन्धमा कदम चाल्ने कान्तिपुरलाई प्रतिक्रिया दिए । मन्त्री ज्ञवालीको भनाइलाई आधार मान्ने हो भने नेपाललाई यसबारे पहिले थाहै थिएन । तर तथ्य त्यस्तो होइन ।
भारतले नेपाली भूमिमा सडक बनाइरहेको तस्बिरसहित समाचार कान्तिपुरलगायतले प्रकाशन गर्दै आएका थिए । त्यस क्षेत्रका जनप्रतिनिधिले पनि यो विषयमा बोल्दै आएका थिए । त्यहाँ रहेका नेपाली सुरक्षा निकायले थाहा नपाउने कुरै भएन ।
नेपालका पूर्व र वर्तमान सुरक्षाका अधिकारी, नागरिक समाजका अगुवा, त्यस क्षेत्रका सांसद तथा नेतालगायतका अनुसार उक्त सडक निर्माणबारे यसअघि नै पर्याप्त सूचना आइसकेको थियो । तर भारतलाई बिच्काउन हुन्न भनेर नेपाल सरकारले कुनै पनि प्रतिक्रिया व्यक्त नगरी बस्यो ।
सुरक्षा निकायका अधिकारीहरुले आआफ्नो निकायबाट भारतले गरेको सीमा अतिक्रमण र सडक निर्माणबारे सम्बन्धित मन्त्रालयलाई जानकारी गराउँदै आएको बताएका छन् । प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्देखि सेनामार्फत रक्षा मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत गृह मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभागमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भारतले गरेको सीमा अतिक्रमण र दार्चुलामा भारतले बनाएको सडकबारे जानकारी दिइएको थियो । ‘हामीले सीमा अतिक्रमण र त्यहाँ बनिरहेको सडक निर्माणका बारेमा पटक–पटक रिपोर्ट लेखेर मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीलाई बुझाइसकेका छौं । तर उनीहरुले मुद्दालाई जस्तै गरी यो सीमा समस्यालाई पनि तामेलीमै राखे,’ एक सुरक्षा अधिकारीले कान्तिपुरसँग भने ।
ती अधिकारीका अनुसार नेपाल सरकारले सूचना हुँदा–हुँदै पनि भारतलाई प्रतिक्रिया दिएर सीमामा सडक निर्माणमा रोक लगाउन सकेन । ती अधिकारीले थपे, ‘हाम्रा नेताहरु भारत–निर्भर भए । भारतले के गर्छ कि, भारतलाई बिच्क्याउँदा पद जान्छ कि भनेर काम अघि नै बढाउँदैनन् । सुरक्षा निकायले सूचना संकलन गरेर मात्र के गर्नु ? उच्च तहमा काम मन्त्री र प्रधानमन्त्रीहरुले नै गर्ने हुन् ।’
प्रधानमत्री केपी शर्मा ओलीले आफूलाई जतिसक्दो छिटो सूचना आओस् भनेर गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राखेका छन् । त्यही विभागले दार्चुलास्थित नेपाली भूमिमा भारतले सडक बनाइरहेको भनेर जानकारी दिँदा प्रधानमन्त्री चुप लागेर बसे । ‘प्रधानमन्त्रीले जानकारी पाए पनि पार्टीभित्रै समस्या परिरहेका बेला भारतलाई किन बिच्क्याउनु भनेर कुनै कदम चाल्नुभएको छैन,’ अर्का एक सुरक्षा अधिकारीले भने । कान्तिपुरमा खबर छ ।

