बिहानैदेखि आफूपक्षीय नेताहरूसँग परामर्श गरिरहेका प्रधानमन्त्री ओली सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलसहित बैठक कक्षमा थिए । अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सीधै बालुवाटार गए, सँगसँगै नेताहरू पुन र शर्मा पनि पुगे । बैठकको सुरुवात राष्ट्रपतिलाई महाअभियोग लगाउन तयारी भइरहेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिबाटै सुरु भयो ।

ओलीले शनिबार मन्त्रीहरूसँगको अनौपचारिक छलफलमा आफू र राष्ट्रपतिलाई हटाउन षड्यन्त्र सुरु भएको र त्यसका लागि पार्टीभित्रकै नेताहरूले कानुनविद्सँग सरसल्लाह गरिरहेको बताएका थिए । ‘पार्टीभित्र मेरो राजीनामाको माग भइरहेको छ, उहाँहरू नै राष्ट्रपतिलाई महाअभियोग लगाउन कानुनी सरसल्लाहमा लाग्नुभएको बुझेको छु,’ प्रधानमन्त्रीले बैठकमा भनेका थिए, ‘परिस्थिति यस्तै छ, हामीविरुद्ध भएको षड्यन्त्रलाई मैले बाई–वर्ड, बाई–स्टेप पराजित गर्नुपर्ने हुन सक्छ, त्यो बेला तपाईंहरूले पनि आफ्नो कित्ता क्लियर गर्नुपर्छ ।’

आइतबार दाहाल बैठकमा प्रवेश गर्नेबित्तिकै ओलीले तपाईंहरू राष्ट्रपतिकहाँ डेलिगेसन गएर के खबर ल्याउनुभयो त भनेर सोधेका थिए । जवाफमा दाहालले ‘तपाईंले नै अफबाह फैलाएपछि त्यही कुरा क्लियर गर्न हामी राष्ट्रपतिलाई भेट्न गएका हौं’ भनेका थिए । स्रोतका अनुसार दाहालको कुरा सुनेपछि ओलीले कड्किँदै भने, ‘तपाईंहरूले राष्ट्रपतिलाई महाअभियोग लगाउन कहाँ–कहाँ कस्तो–कस्तो सल्लाह र परामर्श गर्नुभएको छ, त्यसको प्रमाण मसँग छ ।’

ओलीले यसो भनेपछि दाहाल झन् जंगिएका थिए । ‘तपाईंसँग त्यस्तो प्रमाण के छ भनिहाल्नुस्, अहिले नै त्यसबारे छिनोफानो गरौं,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसअघि पनि यस्तै हल्ला हुँदा मैले राष्ट्रपतिलाई यो कार्यकालभरि महाअभियोग लगाउने कुनै काम हुँदैन, लेखेर दिनुपर्छ भने पनि दिन्छु भनेको थिएँ, अहिले पनि हाम्रो कुरा त्यही हो ।’

दाहाल र ओलीबीच चर्काचर्की परेपछि बैठकमा सहभागी नेताहरूले परिस्थिति सम्हाल्दै अब के गर्ने भन्नेबारेमा छलफल केन्द्रित गर्न अध्यक्षद्वयलाई सुझाए । त्यसपछि ओलीले सहमति गर्न आफ्नोतर्फबाट आफू स्वतन्त्र रहेको भए पनि दाहाल स्वतन्त्र नभएको बताएका थिए । ‘यहाँ सहमति गरौंला, एउटा निष्कर्ष निकालौंला,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म त निर्णय गर्न र त्यो अप्लाई गर्न स्वतन्त्र छु, तपाईंले झलनाथजीको कुरा सुन्नुपर्ला, माधवजीको कुरा सुन्नुपर्ला । खै के पो होला र ?’

अध्यक्षद्वयबीचको छेडछाड नसकिने संकेत देखिएपछि अरू नेताले छलफल आगामी योजनामै केन्द्रित गर्न बारम्बार आग्रह गरेका थिए । त्यसपछि बैठकमा सहभागी चार नेताले अनौपचारिक छलफल गर्ने र त्यही आधारमा सोमबार बिहान फेरि अध्यक्षद्वय बस्ने कुराकानी भएको थियो । ‘भोलि (सोमबार) दुई अध्यक्ष बसेपछि अरू केही कुरा अझै आउला, अहिले विषयवस्तु कता लैजाने भन्ने जिम्मा पनि उहाँहरूकै काँधमा छ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘अहिलेसम्मको परिस्थिति हेर्दा सोमबार पनि बैठक स्थगित हुने सम्भावना देखिन्छ ।’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि बैठक हुने या रोकिने भन्ने कुराको निक्र्योल सोमबार हुने अध्यक्षद्वयकै भेटघाटले निर्धारण गर्ने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।