सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने तयारी थालेको छ । निर्वाचनको मिति तय नभए पनि सरकारले सोही प्रयोजनका लागि नेपाल सरकारका एक सहसचिवलाई जिम्मेवारीसमेत दिएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने प्रयोजनका लागि नेपाल न्याय सेवा कानून समूहका सहसचिव कलानिधि पौड्यालललाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न १९ जना कर्मचारी रहने गरी निर्वाचन सम्पन्न नभए सम्मका लागि दरबन्दीसमेत स्वीकृत गरिएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

सरकारले प्रमुख निर्वाचन अधिकृतको कार्यालय काठमाडौँमा स्थापना गर्ने भएको छ । यस्तै जिल्लाको हकमा सो सम्बन्धी कार्यका लागि जिल्ला सरकारी वकिल कार्यालयलाई जिम्मा दिइएको छ । जिल्ला सरकारी वकिल कार्यालयलाई थप जनशक्ति आवश्यक पर्ने भएमा सम्बन्धित निकायसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयले आवश्यक व्यवस्था गर्नेछ ।

यसअघि २०७३ साल वैशाख १० गते आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको थियो । निजामती सेवा नियमावली, २०६४ अनुसार आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।