चक्र बहादुर के.सी.
भदौ २ । बर्डफ्लुको सङक्रमण बढ्दै गएपछि प्युठान जिल्लामा कुखुरा तथा मासुजन्य पशुपंक्षी आयात, निर्यात तथा वितरणमा रोक लगाइएको छ ।

 जिल्ला बर्डफ्लु रोग नियन्त्रण तथा रोकथाम प्रविधिक समितिले बैठकबाट निर्णय गरी ब्रोइलर कुखुरा, अण्डा तथा कुखुरा जन्य बस्तु ओसार पोसारमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताएका छन् ।

दाङको भालुवाङ कपिलबस्तु लगाएत तराईका जिल्लाबाट  भित्रने  पंक्षी आयातमा बर्डफ्लु  आउने सक्ने सम्भावना भएकोले   सतर्कता अपनाउँदै जिल्ला बाहिरबाट कुखुराको चल्ला र अण्डा तथा कुखुराको मासु अर्को निर्णय नभएसम्मका लागि ल्याउन निषेध गरिएको  छ ।

देशका विभिन्न क्षेत्रमा बर्डफ्लु फैलिरहेको र छिमेकी जिल्लामा समेत यसको संक्रमण भएसँगै  यस्तो निर्णय गरीएको  पशु सेवा कार्यालयले जनाएको छ । कुखुराको दाना स्रोत खुलेको प्रमाणपत्रको आधारमा ल्याउन सकिने भएपनि जिल्लामा उत्पादित कुखुरा तथा अण्डा ओसारपसार गर्दा समेत पशुसेवा तथा उपकेन्द्रको सिफारिस लिएर बेच्न सकिने कार्यालय डा. विष्णु धितालले बताए ।

जिल्लावासीलाई बर्डफ्लु रोग संक्रमणबाट बचाउन सबैखाले सवारीका साधनमा जिल्ला बाहिरबाट यस्ता पदार्थ ढुवानी नगर्न र नगराउन समेत समितिले सूचना जारी गरेको छ । समितिले निर्णय गरेअनुसार नियमको उल्लघंन गरेमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई आवस्यक कारवाही गरिने प्रमुख धितालले  जानकारी दिएका छन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।