साउन १६।  नेपाली बजारमा पाइने इनर्जी ड्रिंक्स खाद्य ऐन अनुसार लेबल नभएको मात्र नभई अखाद्यसमेत रहेको विज्ञहरू बताउँछन् ।
 “यहाँ बिक्री भइरहेका धेरैजसो इनर्जी ड्रिक्स अस्वस्थकर छन्,” औषधिविज्ञ बाबुराम हुमागाईं भन्छन्, “एकातिर लेबल स्पष्ट नभएकाले के मिसाइएको छ भन्ने अन्योल छ भने मिसावट गरिएका वस्तु स्वास्थ्यमा नकारात्मक असर गर्ने खालका छन् ।”
उनका अनुसार धेरैजसो इनर्जी ड्रिंक्समा प्रयोग हुने ‘क्याफन’ औषधि ऐनको दफा २५ बमोजिम नेपालमा प्रतिबन्ध छ । “यस्ता उत्पादन कतिपय देशमा महिला तथा बालबालिकाका लागि बर्जित छन्,” उनले भने, “हामीकहाँ खुल्लमखुला बिक्री भइरहेका छन् ।”
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ विभागले गरेको कारबाही सकारात्मक रहेको तर ती उत्पादनको लेबलमात्र नभएर गुणस्तरमा समेत ध्यान दिनुपर्ने बताउँछन् । “बजारमा पाइने सबै यस्ता वस्तु प्रयोगशालामा परीक्षण गरी गुणस्तरीयता जाँच गर्नुपर्छ,” उनले भने, “लेबल नराखेकालाई मात्र हेर्ने हो भने उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने उत्पादनले उन्मुक्ति पाउँछन्, गुणस्तरहीन उत्पादनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”  कारोबारमा खबर छ ।
 यसै गरी शरीरमा स्फूर्ति जगाउने’ भन्दै आयातीत ‘इनर्जी ड्रिंक्स’ गुणस्तरहीन पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भन्सार बिन्दुमै कडाइ गरेको छ । विभागको निर्देशनअनुरूप क्वारेन्टाइन प्रयोगशालाले ऐनविपरीत तेस्रो मुलुकबाट आयात गरिएका ८ हजार ७ सय कार्टुन इनर्जी ड्रिंक्स यसैसाता रोकेका छन् । रेडबुल र रेडस्टार ब्रान्डका इनर्जी ड्रिंक्समा खाद्य ऐनले तोकेको मापदण्डअनुरूप लेबल नराखिएकाले रोक लगाइएको विभागले  जनाएको छ । 
क्वारेन्टाइन प्रयोगशालाले नै प्रतिबन्धित खाद्यवस्तु छानबिन नगरी प्रमाणित गरेको पाइएपछि विभागले भन्सार बिन्दुमै कडाइ गर्न थालेको हो । खाद्य ऐनले तोकेको सामान्य मापदण्डसमेत पूरा नगरेका इनर्जी ड्रिंक्स बजारमा छ्याप्छ्याप्ती बिक्री–वितरण भएको पाएपछि विभागले दुई महिनाअघिदेखि कारबाही सुरु गरेको हो । 
काठमाडौंकेन्द्रित कारबाही थालेको विभागले भन्सार बिन्दुमै कमजोरी भएको निष्कर्ष निकाल्दै आयातमै निगरानी बढाएको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।