विश्लेषण
साउन १ । सरकारले त्यत्रो चुनावकै लागि भनेर बजेट छुट्यायो । एमाओवादी, कांग्रेस, एमाले चुनाव चुनाव भन्दै लागिपरेका छन् । निर्वाचन आयोग पनि कस्सिए जस्तो छ । त्यसो त मंसिर ४ का लागि मिति समेत घोषणा भईसक्यो ।

यस्तो अवस्थामा तपाईलाई लाग्ला । ओ हो । मंसिरमा चुनाव त हुन्छ नै कि के हो ।

यसो सोचेर ल्याँदा त साँच्चै होला होला जस्तो पनि । तर पर्दा पछाडीका घटनाहरु निकै गम्भीर खालका छन् । र दलहरुका स्वार्थहरु हेर्दा चुनाव भने हुने कुनै काँटछाँट देखिदैन ।

यतिबेला नेपाली राजनीतिमा एमाओवादी पनि संसदीय खेलमा लागेपछि कांग्रेस एमालेसँग टक्करमा छ । तर, यो टक्करमा हारजितका लागि मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको भूमिका चाहेर पनि या नचाहेर पनि एक नम्बरमा छ ।

अहिले कांग्रेस एमाले वैद्य माओवादीको पछि पछि लागेका छन् । या त, वैद्य माओवादीले चुनावमा भाग लिए मात्रै आफूहरु लिने उनीहरुको भित्रि अडान छ । तर एमाओवादी भने वैद्य माओवादीलाई पाखा राखेर चुनावमा जान चाहन्छ ।

तत्कालिन एमाओवादी विभाजन भएर दुई तिर लागेपछि शहिद, बेपत्ता, घाइते परिवारहरुको सिंगो समर्थन वैद्य माओवादीमा छ । बहिरगमित पूर्व जनमुक्ति सेनाहरु वैद्यकै आसपासमा छन् । त्यसो हुँदा उनीहरु चुनावमा गए भने एमाओवादीको ठूलो मत त्यता जानेछ । र उ एमाओवादी कमजोर हुनेछ भन्ने विश्लेषण गरी कांग्रेस एमाले वैद्य माओवादी बिना कुनै पनि हालतमा चुनावमा जानेवाला छैन ।

तर त्यही कुरो बुझेको एमाओवादी भने वैद्यलाई पाखा राखेर चुनावमा भाग लिए उनी समर्थकका पनि भोट पाउने र ठूलो दल हुने तिब्र इच्छामा छ । र वैद्य माओवादी चुनावमा भाग लिने भएको खण्डमा भने उसँग पार्टी एकता त्यो पनि नभए चुनावी एकता गरेर जाने सोचमा छ । त्यसैको एउटा विम्ब यसअघि पार्टी एकताको नाममा हल्ला फिजाइएको थियो । तर, वैद्यले साम्राज्यवाद र विस्तारवादको भासमा फसिसकेकाहरुसँग एकता नहुने प्रतिक्रिया दिएपछि त्यो तत्काललाई टर्न गएको थियो ।

त्यसैले, एक त कांग्रेस एमाले तथा एमाओवादीका कारण चुनाव मंसिरमा हुने सम्भावना कम छ । त्यतिमात्रै होइन उनीहरुबीच चुनावको विधि तथा प्रक्रियाका विषयमा ठुठूला मतभेद अझैसम्म कायम नै छन् ।

अर्कातिर, नेकपा माओवादीसहित ३३ दल आन्दोलनमा छन् । उनीहरु कुनै पनि हालतमा वर्तमान सरकारले यथास्थितिमा गराउने चुनाव हुनै नदिनेमा लागेका छन् ।

दलिय सरकार गठन र विवादित विषयमाथि छलफल गरेर निर्वाचन घोषणा गरेको खण्डमा उनीहरु पनि भाग लिने बताउँछन् । तर त्यसो नभई चुनाव गराए जसरी पनि बिथोलेरै छाड्नेमा उनी लागेका छन् । यतिसम्म की नेकपा-माओवादीले त्यसका लागि कार्यकर्तालाई जीवनमरण झै सम्झेर लाग्न निर्देशन दिईसकेको छ भने बिथोल्नका लागि खासै धेरै कसरत गर्न पनि नपर्ने देखिन्छ ।

अझ यस्तो अवस्थामा चुनाव भएको खण्डमा हत्या हिंसा र गुण्डाराज बढेर जाने निश्चित छ । यस्तो अवस्थामा १० वर्षे जनयुद्ध गरेका तर उनीहरुलाई पाखा लगाइएका जो अहिले निराशाजनक अवस्थामा छन् । उनीहरुमा एक किसिमको कुण्ठा पैदा हुन सक्ने देखिन्छ । त्यसो भएमा बम र बारुद बनाउन र पड्काउन जानिसकेका उनीहरुलाई सनक चल्यो भने ठूलै क्षति हुने देखिन्छ ।

त्यसैले भद्रगोल अवस्था र विपक्षीहरुको कारण पनि चुनाव हुने आशा देखिन्न ।

यता, निर्वाचन आयोगमा ५५ लाख मानिसले मतदाता नामावलीमा नाम लेखाएका छैनन, नचाहेर, विश्वास नभएर वा नभ्याएर हुन सक्छ । त्यत्रो संख्यामा छाडेर निर्वाचन गर्नु पनि मुर्खता हुन्छ । त्यसैले मंसिरमै चुनाव हुन्छ भन्ने सम्भावना भने क्षण छ । तर भईगएछ भने पनि त्यसले हामीले चाहेको संविधान देला भन्ने केही पनि आधार छैन । तर, यसअघिको संविधानसभामा भएका विवादित विषयको टुंगो लगाएर निर्वाचन गरिने हो भने त्यो चाँही नेपाली जनताका लागि फलदायी हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।