विकास थापा
असार ३० । मुलुकको विकास निर्माणमा परिचालन भएका आन्तरिक राजस्व र बाह्य सहायता दर बढ्दै गए पनि गरिबी भने त्यसअनुसार घट्न नसकेको आर्थिक सर्वेक्षणले देखाएको छ। अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार कुल जनसंख्याको २३.८ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि छ।
कुल जनसंख्या दुई करोड ७२ लाखमध्ये अझै पनि ६४ लाख ७३ हजार जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छ। अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७० सार्वजनिक गर्दै भने, ‘समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहे पनि उच्चदरको मुद्रास्फिति, बढ्दो व्यापार घाटा, लक्ष्यभन्दा कम आर्थिक वृद्धि हासिल अर्थतन्त्रका चुनौती हुन्।’
आर्थिक वर्ष २०६६/६७ मा सार्वजनिक गरिएको नेपाल जीवनस्तर मापन सर्वेक्षण तेस्रोले कुल जनसंख्याको २५.१६ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेको देखाएको थियो। त्रिवर्षीय योजनाले चालू आर्थिक वर्षमा गरिबीको दर २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो। समयमा पूर्ण बजेट आउन नसक्नु, पुँजीगत (विकास) खर्च हुन नसक्नु, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा विभिन्न किसिमका बाधाअड्चन आउनुले सरकारी र निजी लगानी यथेष्ट हुन नसकी गरिबी न्यूनीकरणको लक्ष्यमा प्रभाव परेको सर्वेक्षणले औंल्याएको छ।
गरिबी रेखामुनि रहेको जनसंख्या आर्थिक वर्ष ६८/६९ मा २४.४ र ६९/७० मा २३.८ प्रतिशत थियो। अर्थिक वर्ष ५२/५३ देखि १४ वर्ष अवधिमा गरिबी झन्डै १७ प्रतिशतले घटेको थियो। यस अवधिमा वार्षिक औसत १.४ प्रतिशत बिन्दुका दरले घटेको गरिबी दर त्यसपछिका तीन वर्षमा भने वार्षिक औसत ०.४७ प्रतिशतले मात्र कमी आउन सकेको हो। गरिबी घट्नुमा साक्षरता वृद्धि, कृषि तथा गैरकृषि क्षेत्रको ज्यालादर वृद्धि, व्यावसायिक तरकरीखेतीको विकास, बढ्दो सहरीकरण र रेमिटान्सको प्रमुख भूमिका थियो।
सर्वेक्षणअनुसार चालू आबमा नेपालीको प्रतिव्यक्ति आय (कुल गार्हस्थ उत्पादनमा) सात सय १७ अमेरिकी डलर (६२ हजार ५ सय १० रुपैयाँ) पुग्ने अनुमान छ। यसैगरी कुल राष्ट्रिय आयका आधारमा प्रतिव्यक्ति आय सात सय २१ अमेरिकी डलर पुग्ने अनुमान छ। रेमिटान्स (विप्रेषण) आप्रवाह र सेवा क्षेत्र उत्पादनमा भएको वृद्धिले गर्दा कुल खर्चयोग्य आयमा वृद्धि भएको हो। सर्वेक्षणअनुसार ११ महिना अवधिमा तीन खर्ब ८८ अर्ब रुपैयाँ रेमिटान्स भित्रिएको थियो। यो कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा २२ प्रतिशत हो।
अहिले ३० लाखभन्दा बढी नेपाली रोजगारीका लागि विदेशमा गएको अनुमान छ। प्रत्येक वर्ष देशको श्रमबजारमा चार लाख ५० हजारको श्रमशक्तिले रोजगारको अवसर प्राप्त गर्न नसकेको सर्वेक्षणले उल्लेख गरेको छ।
गरिबीसित प्रत्यक्ष सरोकार राख्ने मुद्रास्फिति दरमा पनि गत वर्षभन्दा वृद्धि भएको छ। गत वर्ष फागुन मसान्तसम्म मुद्रास्फिति सात प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा १०.२ प्रतिशत पुगेको छ। यसअनुसार खाद्यतर्फ ११.३ र गैरखाद्यतर्फ ९.३ प्रतिशत छ। गत वर्ष खाद्यमा ४.२ र गैरखाद्यमा ९.४ प्रतिशत थियो। चालू आर्थिक वर्षमा खासगरी प्रमुख खाद्यान्न बाली उत्पादनमा गिरावट आउनुको साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भारतीय मुद्रास्फितिका कारण नेपालको मूल्यमा चाप पर्न गएको सर्वेक्षणको ठम्याइ छ। गत वर्षको तुलनामा यस वर्ष पेट्रोलियम आयात ५.४ प्रतिशतले बढेको छ।
मुलुकको आर्थिक वृद्धि मनसुनमा भर पर्छ। समयमै मनसुन सक्रिय भई कृषि उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धि उच्च हुने र मनसुन नहुँदा कम हुने प्रवृत्ति छ। चालू आर्थिक वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएकोमा खाद्यान्न उत्पादनमा आएको कमीका कारण ३.६ प्रतिशत कायम हुन पुग्यो। अघिल्लो वर्ष ४.५ प्रतिशत रहेको आर्थिक वृद्धि कम हुनुमा खाद्यान्न बाली उत्पादनमा ११.३ प्रतिशतले कमी आएको र प्रमुख बालीको उत्पादन गत वर्षभन्दा ८ प्रतिशतले घटेको कारण सर्वेक्षणले उल्लेख गरेको छ।
चालू आव देशभर ४१ मेगावाट विद्युत् थपिएको सर्वेक्षणले देखाएको छ। हरेक वर्ष देशलाई न्यूनतम थप एक सय ५० मेगावाट बिजुली चाहिन्छ। यतिखेर करिब ११ सय मेगावाट बिजुलीको माग छ भने आपूर्ति त्यसको आधा पनि छैन।
अर्थतन्त्र एक झलक
आर्थिक वृद्धि दर ३.६ प्रतिशत
कुल गार्हस्थ उत्पादन १७ खर्ब १ अर्ब १९ करोड रुपैयाँ
प्रतिव्यक्ति आय ७ सय २१ अमेरिकी डलर
वैदशिक लगानी ७९ अर्ब ३६ करोड रुपैयाँ
वैदेशिक अनुदान ४६ अर्ब ९८ करोड रुपैयाँ
वैदेशिक ऋण २५ अर्ब ८३ करोड रुपैयाँ
कुल राजस्व २ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ
पुँजीगत खर्च ४३ अर्ब ३४ करोड रुपैयाँ
व्यापार घाटा ३ खर्ब ९ अर्ब ५५ करोड
विदेशी विनिमय सञ्चिति ४ खर्ब ५३ अर्ब ६१ करोड
शोधनान्तर स्थिति ५२ अर्ब ६९ करोड
मूल्यवृद्धि १०.२ प्रतिशत
सडक निर्माण (कालोपत्रे) १ सय २८ किमि
टेलिफोन पहुँच जनसंख्या १ करोड ९६ लाख
आयात वृद्धि २१.२ प्रतिशत
निर्यात वृद्धि ४ प्रतिशत
स्रोत : आर्थिक सर्वेक्षण, २०६९/०७०
(अन्नपूर्ण दैनिक)