जेठ १६ । मकवानपुर जिल्ला भैँसे गाविस–१ स्थित कुलेखानी जलविद्युत् आयोजना–२ को एउटा ट्रान्सफर्मरको मर्मतसम्भार गरेर आज मध्याह्नबाट प्रथम चरणमा जम्मा १० मेगावाट विद्युत् उत्पादन सुरु गरेको सो आयोजनाले जनाएको छ ।

सो आयोजनाको हातामा जडान गरिएको तीनवटा ट्रान्सफर्मर २०७० वैशाख ३ गते राति विद्युत् सर्ट भई जलेका थिए ।

कुलेखानी–२ बाट आज उत्पादित १० मेगावाट विद्युत् काठमाडौँको केन्द्रीय विद्युत् ग्रिडमा जोडिएको छ ।

सो आयोजनाले पश्चिम क्षेत्रको गण्डकी जलविद्युत्बाट केही हप्ताअघि एउटा ट्रान्सफर्मर ल्याएको थियो ।

उक्त ट्रान्सफर्मरलाई मर्मतसम्भार गरी आयोजना स्थलमा जडान गरिएको हो ।

करिब डेढ महिनाअघि ट्रान्सफर्मरमा आगलागि भई करिब रु २६ करोड ४० लाखबराबरको क्षति भएको आयोजनाका प्रशासनिक अधिकृत शारदाविक्रम मल्लले बताए ।

अहिले कुलेखानी प्रथमको ६० मेगावाटमध्ये २० र दोस्राको ३२ मेगावाटमध्ये १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

आगामी एक महिनाभित्र सबै ट्रान्सफर्मरको मर्मत गरी कुल ३२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख कृष्णप्रसाद यादवले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।