काठमाडौं २९ भदौ
संविधान संशोधनमा असहयोग गरेपछि मधेसवादी दलसँग सम्बन्ध चिसिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचार प्रसारमा अझै तराई जान सकेका छैनन् । मधेस जाँदा उनको विरोध हुने भएपछि अरु सबै दलका शिर्ष नेता मधेसमा पुगेर भोट मागिरहँदा ओली भने काठमाडौंमै सिमित बन्न परेकाे हाे ।
बुधबार चुनावी कार्यक्रमका लागि उनी मधेस जाने कार्यक्रम रहेपनि अन्तिम समयमा उनले स्थगित गरेका थिए । अब ३० भदौमा महोत्तरीको बर्दीबासबाट ओलीका लागि निम्तो आएपनि उनी जाने नजाने अझै टुंगो छैन । प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टी महासचिवले कार्यक्रम तय गर्ने र अध्यक्षको कार्यक्रम तय भए जाने बताए ।
उनले एमालेले ठूलो आमसभा नगरेकाले ओली नगएको समेत बताए । तर , मधेसवादी दलले ओलीलाई नरुचाएपछि उनी तराई जान नसकेका हुन् । यसअघि जनकपुरमा बरिष्ठ नेता माधव नेपाललाई समेत कालो झण्डा देखाएका थिए । ओली गएमा कालो झण्डा देखाउने तथा प्रदर्शन हुने भएपछि उनी नगएको एमाले स्रोत बताउँछ ।
अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायत सिंगो सविचालय, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, शशांका कोइराला लगायत नेता मधेस दुईमा पुगेर चुनावी कार्यक्रम गरिरहेका छन् । एमालेबाट भने अन्य नेता पुगेपनि ओली जान सकेका छैनन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।